म्याग्दीमा ५८.७८ प्रतिशत मत खस्यो, मतपेटिका संकलन जारी
काेराेला पोस्ट मंसिर ४, २०७९ आईतबार

म्याग्दी, ४ मंसिर । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा म्याग्दीमा ५८.७८ प्रतिशत मत खसेको छ । जिल्लाका ८२ मतदानस्थलका एकसय २० मतदान केन्द्रमा भएको निर्वाचनमा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

छवटा स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा ८६ हजार १२० मतदाता रहेको मतदातामा ५० हजार ६२५ जनाले निर्वाचनमा मतदान गरेको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मतदानमा पुरुष २४ हजार ३३१ र महिला २६ हजार २९३ जनाले सहभागीता जनाएका छन् । जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतपेटिका संकलन जारी रहेको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सुरक्षाकर्मी सहितको टोलीले मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन थालेका छन् ।

प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।