नेपाल एक सार्वभौम सम्पन्न मुलुक हो । यहाँको कानुनलाई नजिकबाट नियाल्दा विभिन्न समयमा विभिन्न किसिमका कानुनहरू बनाउँदै र झन्–झन् समयानुकूल र समयसुहाउँदो बनाउँदै लगिएको देख्न पाइन्छ । इतिहासलाई हेर्ने हो भने त राणाकाल, शाहकाल, पञ्चायती व्यवस्था, प्रजातान्त्रिक व्यवस्था हुँदै लोकतान्त्रिक गणतन्त्रसम्मको व्यवस्थालाई हामीले देखिसकेका छौं । यतिसम्मको व्यवस्था देखिसकेपछि पनि मुलुकले चाहेको समृद्धि भने देख्न पाइएको छैन, किन होला ? जुनै शासन व्यवस्थामा पनि नेतृत्व स्तरमा पार्टी र गुटगत दलीय स्वार्थले सबै व्यवस्थामा जेलेको प्रस्ट देख्न सकिन्छ । दलगत स्वार्थका कारण आजको दिनसम्म आउँदा मुलुकले चाहेको समृद्धि पाउनबाट वञ्चित भएको आभास भएको छ ।
जनताले आफ्नो अमूल्य जनमत प्रदान गरेर नेतृत्व स्तरमा पु-याउने तर जनताको जनमतलाई बेवास्ता गरी आफ्नो क्षणिक लोभलालच र व्यक्तिवादी सिद्धान्त हाबी हुँदा आज लोकतन्त्र नै नरहने कि संघीयताको अभ्यास पूर्णता प्राप्त गर्नै नसक्ने र दिगो विकासमा दिनानुदिन धक्का लाग्ने गरेको देखिएको छ, जसको प्रत्यक्ष असर भोलिका पुस्ताले पाउने निश्चित छ ।
नेतृत्वमा आएको विचलनले आज विकासका काम–कारबाही ठप्प हुने अवस्था आएको छ, जसको प्रत्यक्ष असर श्रमजीवी नागरिकलाई परेको छ । देशमा धेरैभन्दा धेरै रोजगारीका प्रत्यक्ष बाटाहरू हुँदासमेत बिदेसिनुुपर्ने बाध्यताको सिर्जना भएको छ, साथै भएका स्रोतसाधनको अधिकतम सदुपयोग गरी आन्तरिक रोजगारी सिर्जना गर्ने कार्यमा नेतृत्वमा देखिएको कलहले गर्दा रोजगारी चेपुवामा परेको छ ।
जब पूर्वाधारको विकास हुँदैन, जहाँ विद्यार्थीले राम्ररी शिक्षादीक्षा आर्जन गर्न पाउँदैनन्, जुन ठाउँमा बाटोघाटो पुगेको हुँदैन, जुन ठाउँमा उत्पादन गरिएका वस्तुको बजारसम्म पु-याउने व्यवस्था हुँदैन, जुन दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकको स्वास्थ्योपचार हुन सक्दैन अनि जुुन क्षेत्रमा जनताको आवश्यकता केके छ भनेर पहिचान हुन सक्दैन भने त्यस ठाउँ र त्यस ठाउँमा बसोबास गर्ने नागरिकको समस्या सम्बोधन हुन सक्दैन भने कसरी समृद्धि हासिल गर्न सकिन्छ ? सभा–समारोहमा बोलिने समृद्धिले वास्तविक समृद्धि हुन सक्दैन । त्यसैले बोलीलाई प्रभावकारी कार्यान्वयनमा जोड दिनु आजको प्रमुख आवश्यकता रहेको छ ।
पार्टीको आन्तरिक झगडा, भागबन्डा र कित्ताकाट जनतालाई कदापि पाच्य हुनेछैन । आज सभा–समारोहमा बाक्लो उपस्थिति हुने जनता वास्तविक उपस्थिति होइन, निष्ठाको राजनीति गर्ने भीड होइनन् । ती भीडमा भेटिएकालाई सोधांै न, ती जनताले रोजगारी नपाउँदा आन्दोलन, विरोध, धर्ना, जुलुसमा उपस्थिति हुँदा आफ्नो जीविका चलाउन सकिन्छ भन्ने व्यक्ति मात्र सभामा आउने, हल्ला गर्ने गरेको पाइन्छ । त्यसैले फोहोरी र रमिते राजनीति गर्ने नेतृत्वलाई हाम्रो गम्भीर ध्यानाकर्षण छ कि जनताको अभिमतको कदर गरौं । र, देशको समृद्धिमा लाग्न सबै दल र तिनका संगठनलाई आग्रह गर्छाैं । जनताले फोहोरी राजनीति गर्नका लागि अमूल्य जनमत दिएका थिएनन् र दिन्नन् पनि ।
झलनाथ खतिवडा, साभार काराेबार दैनिक ।