राष्ट्रिय महिला भलिवलमा एपिएफलाई स्वर्ण
काेराेला पोस्ट कार्तिक २, २०७९ बुधबार

म्याग्दी, २ कात्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा आज सम्पन्न राष्ट्रिय महिला भलिवल प्रतियोागितामा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई स्वर्ण जितेको छ । प्रतिस्पर्धात्मक फाइनलमा नेपाल पुलिस क्लबलाई १ का विरुद्ध तीन सेटमा पराजीत गर्दै राष्ट्रिय महिला भलिबलमा एपिएफ क्लबले स्वर्ण जितेको हो ।

पहिलो र दोस्रो सेटमा २५–१९ र ३०–२८ को जीत निकालेर खेलमा पुलिसलाई दबाबमा राखेको एपिएफले तेस्रो सेटमा २६ का सामु २४ नम्बर ल्याएर पुलिसले जितेको थियो । चौथो सेटमा प्रहरीमाथि २५–१९ को जित निकाल्दै एपिएफले राष्ट्रिय महिला भलिबलमा बिजयी हाँसिल गरेको हो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै एपिएफकी खेलाडी निरुता ठगुन्ना प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भईन ।


प्रतियोगिता अन्तरगत आज नै तेस्रो स्थानको लागि भएको खेलमा गण्डकी प्रदेशलाई १ का विरुद्ध तीन सेटमा पराजीत गर्दै बागमती प्रदेशले जित हात पारेको थियो । प्रतियोगितामा बिजयी हुँदै स्वर्णपदक बिजेता एपिएफका खेलाडीहरुलाई जनही नगद रु १५ हजारको साथमा ट्रफी, पदक र प्रमाणपत्रद्धारा पुरस्कत गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी चिरञ्जिबि राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतको उपस्थितमा स्वर्ण, कास्य र रजत पदक बिजेता टिमका खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । गत असोज २७ गतेदेखि बेनीमा सुरु भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिमले सहभागीता जनाएका थिए ।