३५ करोड लगानीमा भुरुङ तातोपानीमा ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा
काेराेला पोस्ट आश्विन १२, २०७९ बुधबार


म्याग्दी, १२ असोज । बेनी– जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा धौलागिरी क्षेत्रकै ठुलो होटल सञ्चालनमा आएको छ । तातोपानीमा डुब्न आउने पर्यटकलाई लक्षित गरेर युवा व्यवसायि राजु हमालले करिब रु ३५ करोड लगानीमा जिल्लाकै ठूलो क्षमताको होटल सञ्चालनमा ल्याएका हुन् ।

करिब ८ रोपनी क्षेत्रफलको जग्गा व्यवस्थापन सहित तीन बर्षको अवधिमा ६ तलाको भवन निर्माण सम्पन्न गरि ‘होटल नेचुरल स्प्रिङ प्रा.लि.’ लाई औपचारिक रुपमा सञ्चालनमा ल्याइएको सञ्चालक हमालले बताए । विजया दशमीको पहिलो दिन घटस्थापनाको दिनदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको होटलमा रोयल, डिलक्स र साधारण गरि तीन स्तरका सुविधा सहितको ५७ वटा कोठाहरुको व्यवस्था रहेको छ ।

यस होटलमा एक दिनमा करिब २ सय जनालाई राख्न सकिने क्षमता रहेको प्रा.लिले जनाएको छ । ‘‘सुरुवातमा हामीले रु २५ करोडको लगानी अनुमान गरेका थियौँ, कोरोना महामारी, बन्दाबन्दी, निर्माण सामाग्रीमा भएको मुल्यबृद्धि र भौतिक संरचनाहरुमा गरिएको थप पूर्वाधार निर्माणले गर्दा लगानी बढेको छ, हामीले लगानी अनुसारकै स्तरीय सेवा र सुविधा ग्राहकलाई दिन्छौँ’’–उनले भने ।

सञ्चालक हमालका अनुसार, होटलको अधिकाँश भौतिक संरचनाको काम सकिएको छ । लिफ्ट सहितका केहि उपकरणहरुको जडान कार्य भने भैरहेको छ । पार्किङ सहित दृष्य अवलोकनका लागि कृतिम झरना, लगायतका आकर्षक संरचनाहरु समेत निर्माण गरिएको छ । होटलमा १५० जना क्षमताको सेमिनार हल तयार गरिएको छ भने मसाज, क्याफे र लोकलमार्ट समेत सञ्चालनमा ल्याउने प्रा.लिले जनाएको छ । स्टार होटलका सुविधा उपलब्ध गराउने लक्ष्य लिएको यस होटलका सबै कोठाहरुबाट कालीगण्डकी नदी र अन्नपूर्ण हिमशृङ्खालको अवलोकन समेत गर्न सकिने सुविधा रहेको छ ।

लगानी, पूर्वाधार निर्माण र क्षमताको हिसाबले यस होटललाई धौलागिरी क्षेत्रकै ठूलो क्षमताको मानिएको तातोपानी टोल सुधार समितिका सचिब एवम् पर्यटन व्यवसायि अमृतमान शेरचनले बताए । ‘‘म्याग्दी हुँदै मुस्ताङ आवत जावत गर्ने पर्यटकहरुका लागि यो होटलले निकै ठूलो सुविधा थपिएको छ, पर्यटकहरुलाई आरामदायि सुविधा सहितको होटल सञ्चालनमा आउँदा यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने छ ।”

यो होटल सञ्चालनमा आएसंगै भुरुङ तातोपानी बजारमा साना ठूला होटलमा गरि एक रातमा करिब १ हजार जनालाई राख्न सक्ने क्षमता विस्तार भएको छ । यस होटलका कारण प्राकृतिक तातोपानीको कुण्डमा आउने पर्यटकहरुको चाप बढ्ने र पर्यटकहरुको बसाई व्यवस्थापन र भ्रमण अवधि बढाउन सहयोग पुग्ने अपेक्षा होटल ब्यवसायीको छ ।