कृषि उत्पादन बढाउन गाउँपालिकाको भूमिका महत्वपूर्ण
Koralapost पुस २५, २०७७ शनिबार

नेपाल एक कृषिप्रधान देश हो । यहाँका भूभागहरू विभिन्न खेतीपातीका लागि उपयुक्त रहेका छन् । त्यसैले यहाँका कृषि उत्पादनहरूको व्यवस्थित र मर्यादित उत्पादन गर्न सकिएको खण्डमा देशले कृषि उत्पादनबाट आर्थिक समृद्धि हासिल गर्न सक्थ्यो । आज इलामको चिया, झापाको धान, गुल्मीको कफी, चितवनको केरा, रौतहटको उखु, भक्तपुरको जुजु धौ इत्यादि उत्पादनलाई व्यवसायीकरणमा ध्यान दिन सकेको खण्डमा देशले समृद्धि हासिल गर्न केही समय पनि लाग्ने थिएन ।
मुलुकले अहिले तीन तहका सरकार प्राप्त गरेको छ । केन्द्र, प्रदेश र स्थानीय निकाय भएपछिका दिनहरूमा देशले निकासको गति लिएको छ । अझ गाउँपालिकाहरूको तीव्र प्रतिस्पर्धा हुन सकेको खण्डमा कृषि उत्पादनले अझ बढी सार्थकता प्राप्त गर्ने थियो । अहिले देशका विभिन्न गाउँपालिकाहरूले किसानहरूलाई कृषिमा नै समृद्धि पाउनका लागि उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन गर्न थालेका छन् ।
आफ्नो पालिकामा बढीभन्दा बढी कृषि उत्पादन गर्ने किसानहरूलाई समर्थन र प्रोत्साहन गर्ने कार्य विभिन्न पालिकाहरूले सुरुवात गरिसकेका छन् । किसानहरूले उत्पादन गरेको कृषि उपजहरूलाई पालिकाले न्यूनतम समर्थन मूल्य तोकी बजारको सुनिश्चिततासमेत गर्न थालेका छन्, जसबाट किसानहरूलाई पनि कृषिमा आकर्षण दिनदिनै बढ्दै गइरहेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका, म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाहरूले थालनी गरेका कृषक हकहित र संरक्षण अभियान यस कार्यक्रमका केही उदाहरणहरू मात्र हुन् । भत्ता कार्यक्रमहरू अन्य विभिन्न गाउँपालिकाहरूले समेत सञ्चालन गर्न थालिसकेका छन्, जसलाई कृषिप्रधान देशको एक महत्वपूर्ण उत्पादन मान्न सकिन्छ ।
केन्द्रीकृत सरकार हुँदा किसानले उत्पादन गरेका कृषि उत्पादनहरू खेतबारीमा नै कुहिएर जाने गरेको थियो । सरकार र कृषक तथा स्थानीय तहबीच समन्वय नहुँदा स्थानीय तहसम्म सरकारको ध्यान नगइरहेको अवस्थामा मुलुकले तीन तहको सरकार प्राप्त गरेपछिका दिनमा आवश्यकता र पहिचानको आधार तय भएको छ । छिटो र सरल रूपमा गुनासो राख्ने ठाउँ प्राप्त भएको छ र समस्याहरूलाई छिटोभन्दा छिटो समाधान प्राप्त गर्ने र समस्या गर्ने अवस्था आज सिर्जना भएको छ ।
त्यसैले कृषक र किसानहरूको कुनै गुनासो र उनीहरूलाई आइपरेका कृषि उत्पादनसम्बन्धी बीउबिजन, मलखाद, कृषि औजार र उपकरणहरूका लागि गाउँपालिकाले सहजीकरण गरिदिने र ऋण उपलब्ध गराउन पालिका र बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्ने कामहरू धमाधम भइरहेको छ, जसले गर्दा कृषकले ढुक्कले कृषि उत्पादन गर्न सहयोग पुगेको अनुभूति भएको छ । वास्तविक किसानहरूको पहिचान गरी बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गरी कृषि उत्पादनलाई जोड दिँदै अगाडि बढ्नु आजको एक प्रमुख आवश्यकता पनि रहेको छ, जसले देशको उत्पादन बढाउन ठूलो मद्दत पुगी आयातलाई प्रतिस्थापन गर्नसमेत सहयोग गर्छ । झलनाथ खतिवडा काराेवार दैनिक साभार ।