भगवती कोत मन्दिरको पुननिर्माण गरिने
Koralapost पुस २३, २०७७ बिहीबार

म्याग्दी २३ पुस । धौलागिरि आईसफल अन्तरगत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोटमन्दिरको पुननिर्माण हुने भएको छ । २०७२ सालको भुकम्पका कारण जिर्ण बनेको कोतमन्दिर पुर्ननिर्माण गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट बजेट विनियोज भएको छ।

मन्दिर पुननिर्माणमा ८५ लाख १८ हजार चार सय ९१ रुपैयाँ बजेट विनियोजन भएर ठेक्का सम्झौता गरि निर्माण प्रकृया सुरु गर्ने तयारी भएको विभागबाट जानकारी प्राप्त भएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए । मन्दिरलाई पुरानै स्वरुपमा पुननिर्माण गर्ने गरि मन्दिरको पुजा सञ्चालन तथा व्यवस्थापन समिति मार्फत विभागमा प्रस्ताब पेश गरिएकोमा सोही बमोजिम योजना छनौट भएको जिसस प्रमुख केसीले जानकारी दिए ।

मन्दिरको पुजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले मन्दिरको पुरानै स्वरुपलाई जोगाउने र भुकम्पप्रतिरोधी बनाउने गरि पुननिर्माण गर्ने योजनासहित प्राविधिकहरुसंग डिजाइन बनाउन लगाएको बताए । जिल्लामा रहेका पुराना कोतमन्दिरहरुमा पर्ने यस भगवती कोत मन्दिरमा बडा दशैँको अवसरमा विषेश पुजा हुने गर्छ ।

धौलागिरी आईसफल पदमार्गमा समेत पर्ने यस धार्मिकस्थल भविष्यमा धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने पनि सम्भावन रहेको छ । मन्दिरबाट अन्नपुर्ण र निलगिरि हिमालसंगै दर्जनौ गाउँहरु देख्न सकिन्छ ।

मन्दिरको धार्मिक ऐतिहासिक महत्वलाई प्रचार प्रसार गर्ने र पूर्वाधार निर्माण गर्ने कार्यलाई प्राथमिकता दिईएको वडा अध्यक्ष रिमबहादुर कटुवालले जानकारी दिए । तत्कालिन राखु भगवती र राखु पिप्लेकोे साझा कोतको रुपमा चिनिदै आएको यो मन्दिरको ईतिहास नेपाल एकिकरण हुनु अघिको तत्कालिन विभिन्न भुरे टाकुरे राजाहरु तथा १४ देखि १७ औँ सताब्दीका बाईसे चौबिसे राज्यका राजाहरुसंग जोडिएको पाईन्छ ।