बेनी–जोमसोम–कोरला सडक आयोजनामा ५ अर्ब ८४ करोड बजेट खर्च
काेराेला पोस्ट श्रावण २५, २०७९ बुधबार


म्याग्दी, २५ साउन । उत्तर÷दक्षिण जोड्ने कालिगण्डकी करिडोर ( बेनी–जोमसोम–कोरला) सडक आयोजनामा ५ अर्ब ८४ करोड बजेट खर्च भएको छ । उत्तरी चिनकोे कोरलानाका सम्मको सडक पहुँच मार्ग विस्तार गर्न आयोजनाले सडक तथा पुलमा उक्त बजेट खर्चिएको जनाएको छ । आयोजनाको हालसम्म कुल लागत स्टमेट १० अर्ब ३५ करोड रहेकोमा ७ अर्ब ५५ करोड लागतमा विभिन्न निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको थियो । आयोजनाको हालसम्मको भौतिक प्रगती ७५ प्रतिशत रहेको छ ।
आयोजनाले सडकतर्फ ६ अर्ब ३१ करोड बजेटको ठेक्का सम्झौता गरेकोमा ५ अर्ब २ करोड र पुलतर्फ १ अर्ब २४ करोड बजेटको ठेक्का सम्झौता गरेकोमा ८२ करोड वित्तिय खर्च भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतीले जानकारी दिए । उनका अनुसार सडकतर्फ ८० प्रतिशत र पुलतर्फ ६६ प्रतिशत भौतिक प्रगती भएको छ । आयोजनाले हालसम्म ठेक्का सम्झौता गरेको कुल बजेट मध्ये अझै १ अर्ब ७१ करोड बजेट बराबरको काम हुँन बाँकी रहेको आयोजना प्रमुख प्रजापतीले उल्लेख गरे । सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनालाई १ अर्ब ३८ करोड ७६ लाख बजेट विनियोजन गरेको छ ।

उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना २०७४ सालदेखि सुरु भएको हो । पछिल्लो समय गौरवको सडक अन्तर्गत मालढुङ्गा –बेनी १३ किमी र जोमसोम–कागबेनी १३ किमी सडक कालोपत्रे योजना थपिएको हो । यस्तै, यसअघि बेनी–गलेश्वर ४ किमी सडक स्तरोन्नतिको जिम्मा पूर्वाधार विकास कार्यालय म्याग्दीले लिएकोमा सो सडक पनि अहिले कालिगण्डकी करिडोरलाई जिम्मेवारी हस्तान्तरण भईसकेको छ ।

राष्ट्रिय गौरवको सुरुआती बेनी–जोमसोम ७४ किमी सडकको कुल लागत ३ अर्ब ४३ करोड रहेकोमा २ अर्ब ८० करोड बजेटमा ठेक्का सम्झौता भएको थियो । बेनी–जोमसोम ४ खण्डमा काम भईरहेकोमा ठेक्का सम्झौता रकमको २ अर्ब २० करोड बजेट खर्च भईसकेको आयोजनाले जनाएको छ । बेनी–जोमसोम ७४ किमी कालोपत्रे सडकको भौतिक प्रगती ७५ प्रतिशत छ भने वित्तिय प्रगती ७० प्रतिशत छ । जसअन्तर्ग बेनी–जोमसोम ७४ किमी सडक मध्ये हालसम्म २६ किमी सडकमा कालोपत्रे विस्तार भईसकेको छ ।

राष्ट्रिय गौरवको जोमसोम–कोरला सडक अहिले निर्माणको अन्तिम चरणमा छ । जोमसोम–कोरला ११० किमी सडकको ७ खण्ड मध्ये ६ वटा खण्डको काम निर्माण सम्पन्न भई कालिगण्डकी करिडोरलाई हस्तान्तरण भईसकेको छ भने चराङ –छोसेर २५ किमी सडकको भौतिक प्रगती ९० प्रतिशत रहेको छ । चराङ–छोसेर २५ किमी सडक चालु आर्थिक वर्ष भित्र सकिने उनले बताए । योसंगै जोमसोम–कोरला ७ वटै खण्डको ग्राभेल सडकको काम सकिने आयोजना प्रमुख प्रजापतीले उल्लेख गरे । जोमसोम–कोरला सडकको समग्र भौतिक प्रगती ९८ प्रतिशत रहेको आयोजना प्रमुख प्रजापतीले जानकारी दिए ।