सुख्खा पहिरोले बेनी– जोमसोमको सिधा यातायात अवरुद्ध
काेराेला पोस्ट श्रावण १६, २०७९ सोमबार


म्याग्दी, १६ साउन । म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुख्खा पहिरो गएको छ। बेनी–जोमसोम ७६ किमी सडकको काभ्रेभीर सडकमा सोमबार बिहान करिब ११ बजे पहिरो गएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए।

काभ्रेभीर सडकको सिमाना नजिक मुस्ताङतर्फको सडकमा सुख्खा पहिरोलेसडक पुर्ण रूपमा अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीरमा सुख्खा पहिरो गएपनि कालिगण्डकी नदी फराकिलो स्थानमा भएकाले कालिगण्डकी नदी थुनिने खतरा नरहेको आयोजना प्रमुख प्रजापतीले उल्लेख गरे।

काभ्रेभीर सडक माथिबाट चट्टान र माटो खसेको हो। सुख्खा पहिरोले सडक अवरुद्ध भएको छ, पहिरो रोकिएपछि सडक खुलाउने पहल गर्नेछौ प्रजापतिले भने । ‘हामीले आवश्यक उपकरण प्रयोग गरी सडक खुलाउनतर्फ लाग्छौ, एक दुई दिनमा सडक खुल्न सक्छ।’

यसअघि मुस्ताङको थासाङ गाउँपालिका–३ कैकु खोलामा बाढीले सडक क्षति हुँदा सडक अवरुद्ध भएको थियो। सुख्खा पहिरोले कुनै मानवीय तथा अन्य धनजनको क्षति नभएको आयोजना प्रमुख प्रजापतीले बताए।