म्याग्दी, १६ साउन । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने संकेत गरेका छन् । गण्डकी रत्नबाट सम्मानित पुन म्याग्दीको अन्नपुर्ण गाउँपालिका प्रमुखमा उठ्ने संकेत गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत संकेत गर्दै पुनले लेखेका छन् ,‘आगामी गा.पा चुनावमा अन्नपुर्ण गाउँपालिका म्याग्दीबाट प्रमुखमा उठ्नुपर्ला जस्तो देखिँदैछ र आवश्यक परे उठिन्छ पनि ।’
एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागासेसे अवार्ड’द्धारा सम्मानित पुनको उक्त पोष्टमा सकरात्मक प्रतिक्रियाहरु आइरहेका छन् । केहीले उनलाई प्रतिनिधि सभा सदस्यमा उठ्नका लागि सुझाव प्रस्तुत गरेका छन् । पुनले जन्मथलो अन्नपूर्ण गाउँपालिकामाको शिक्षा र पर्यटन विकासमा महत्वपूर्ण काम गर्नुभएको छ ।