गण्डकी प्रदेशस्तरीय खेलमा म्याग्दीबाट ९३ खेलाडी छनोट
काेराेला पोस्ट असार २२, २०७९ बुधबार


बेनी, २२ असार । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न सातौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिताबाट गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कपका लागि म्याग्दीबाट विभिन्न विधामा गरी ९३ खेलाडी छनोट भएका छन् ।

बेनीमा सम्पन्न सातौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिताबाट रघुगंगा गाउँपालिकाको प्रतिनिधित्व गर्दै आएकी रघुगंगा मावि पिप्ले छाात्र सविना विकले पाचँ स्वर्ण जितेकी छन् ।

मंगलबार सम्पन्न भएको प्रतियोगितामा पुरुष तथा महिला भलिबल, कबडी मार्सलआर्ट विधाका खेलाडी छनोट गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए । ‘जिल्लाबाट विभिन्न विधामा गरी ९३ जना खेलाडी छनोट भएका छन्, प्रदेशस्तरीय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने प्रयास गर्छौं’, अध्यक्ष केसीले भन्नुभयो ।

अध्यक्ष केसीका अनुसार जिल्लाभर समग्रमा बेनी नगरपालिका प्रथम भएको छ । स्थानीय तहबाट सहभागी विद्यालयस्तरको स्वर्णसहितको पदक आज वितरण गरिएको छ । असार २३ र २४ गते प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराउने खेलाडी छनोट गर्न जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरिएको थियो । छनोट भएका खेलाडीहरु प्रदेशस्तरीय प्रतियोगिताका लागि आजै पोखरा जाँदैछन् ।