म्याग्दीमा मनाईयो १९औं राष्ट्रिय धान दिवस
काेराेला पोस्ट असार १५, २०७९ बुधबार

म्याग्दी,१५ असार । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

बेनपा–४, सिङ्गास्थित आङ्गेबगरमा आयोजित कार्यक्रमको धान रोपेर उद्घाटन गर्दै् बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कृषकहरुलाई कृषि उत्पादनमा जोडौं र जग्गा बाँझो नराखौं भन्ने धान दिवसको उद्देश्य रहेको बताए । सोही कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले आर्थिक समृद्धि हासिल गर्नका लागि गाउँघरमा त्यत्तिकै खेर गएको जग्गामा आधुनिक प्रणाली अपनाई कृषि खेती गरेर व्यावसायिक बन्नुपर्ने बताइन् ।

कार्यक्रममा स्थानीय कृषकहरुसँगै नगरपालिका र वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुले पनि धान रोपेका थिए । कार्यक्रममा नवजागरण महिला नौमती बाजा समूह बेनपा–४, राक्सेका महिलाहरुले बाजा बजाएर थप रौनकता थपिदिएका थिए । प्रमुख आकृति ढुङ्गानाले जानकारी दिइन् ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने दिनका रुपमा पनि मनाउने गरिएको छ । यसैबीच १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर रघुगंगा गाउँपालिका कृषि शाखाको आयोजनामा पनि दिवस मनाइएको छ । रघुगंगा–३, मौवाफाँटको बरबोट कृषक समूह, देउराली कृषि समूह र मौवाफाँट प्रगतिशिल कृषक समूहसँग समन्वय र सहकार्य गरी राष्ट्रिय धान दिवस मनाइएको छ ।म्याग्दीमा यसवर्ष असार १५ सकिनै लाग्दा जिल्लाभर जम्मा २५ प्रतिशत रोपाइँ भएको छ ।

म्याग्दीमा कुल ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार ४ सय ९८ हेक्टरको जमिनमा खेती हुँदै आइरहेको छ । जिल्लामा कुल ३ हजार ८ सय ८५ हेक्टरको जमिनमा धान खेती हुँदै आएको छ । गतवर्ष १३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन रहेकोमा १६ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने ४ हजार ३ सय ३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।