स्वतन्त्रले पछ्याएको राजनीति
काेराेला पोस्ट असार १३, २०७९ सोमबार


गोविन्द चापागाईं / सदियौंदेखि एउटै दलहरूको राजनीतिको भुमरीमा परेको नेपालको राजनीतिक अवस्थालाई फर्केर हेर्ने हो भने पनि धेरै वर्षदेखि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा समाजवादी, तमलोपा, जसपा, विवेकशील साझालगायत दर्जनौं राष्ट्रिय पार्टीहरू मुलुकमा आ–आफ्नो साझा धारणासहित जनतासामु प्रस्तुत भएका छन् । विगत लामो समयदेखिको यो राजनीतिक विचार र मान्यतालाई भने यो पालिको स्थानीय चुनावले छर्लङ्ग पारिदिएको छ ।

प्रमुख राजनीतिक दलहरूलाई नै यो स्थानीय चुनावको माहोलले चुनौती दिएको छ । यो अर्थमा के बुझ्न सकिन्छ भने अब लामो समयसम्म राजनीति गरेका, उमेरले वृद्ध भएकालाई होइन, सक्षम र योग्य रूपमा आएको विचारधारा, कुनै पनि राजनीतिक दलमा आबद्ध नभएर स्वतन्त्र रूपमा देश र जनताका लागि केही गर्छु भनेर आएका व्यक्तिहरूलाई नेपाली जनताले विश्वास गर्ने देखिन्छ । यसको गतिलो उदाहरण हो, काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह, धरान उपमहानगरमा हर्क साम्पाङलगायत धेरै स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूले पुराना दलहरूको राजनीतिक विचारधारा भएका दलहरूलाई अत्यन्त भारी मतका साथ यो स्थानीय तहहरूमा विजय हासिल भएका छन् ।

जनताको मनमा बस्नका लागि भाषण गरेर मात्र होइन, जनताको दैनिक जनजीविकासँग सम्बन्धित पक्षहरूसँग रहेर काम गर्ने, नराम्रो कामको प्रतिवाद गर्ने, जनताको समस्यालाई तुरुन्त समस्या समाधानमा केन्द्रित रहेर काम गर्ने मानिसहरूलाई जनताले सीधै मत दिन्छन् । उदाहरणका लागि हर्क साम्पाङ । ठूला राजनीतिक दलहरूका मुलुक परिवर्तनका भाषण धेरै सुने, मुलुकलाई यो बनाउँछु, त्यो बनाउँछु भने । तर, जनताले आश्वासन मात्र पाए । सदियौंदेखि मुलुकलाई परिवर्तनको दिशामा लाने राजनीतिक दलहरूले के दिए त ? यसको सूक्ष्म तरिकाले अध्यन–अनुसन्धान गर्ने हो भने मुलुकलाई भ्रष्टाचारको खाडलमा पु¥याए । बेथिति र विसंगतिहरू दिनानुदिन मौलाए । चरम मूल्यवृद्धिले नेपालीको ढाड सेकाए, अन्धविश्वास, रुढिवादी, छुवाछूत, दाइजो प्रथा तथा बलात्कारजस्ता जघन्य अपराधहरू मौलाए । आखिर के पाए त जनताले ?

हो, यसैको चुनौतीस्वरूप जन्म भएको छ स्वतन्त्र व्यक्तिहरूको । हर्क साम्पाङ र बालेनजस्ता जनप्रतिनिधिहरू मुलुकमा उदाए । अहिलेको परिस्थितिलाई मूल्याङ्कन गर्ने हो भने स्वतन्त्रले नै पछ्याए ठूला राजनीतिक दलका प्रतिनिधिहरूलाई । आज बालेन र हर्क साम्पाङ त स्वतन्त्रबाट छानिएर जनताले चुनेर पठाएका जनप्रतिनिधिको प्रतिनिधिका उदाहरण मात्र हुन् । त्यसैको केही महिना अर्थात् असार ७ गते सञ्चारजगत्को दुनियाँबाट राजीनामा दिएर यो देशलाई बचाउन जनताको पीरमर्काको आँखामा आँसु पुछ्न सक्ने आँट र हिम्मत लिएर रवि लामिछानेले आफ्नो छुट्टै राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी भनेर खोले र निर्वाचन आयोगमा पुगेर दल दर्ता पनि गरे अनि दलको चुनाव चिह्न घण्टी पनि राखे । यो माहोल हेर्दा जति पनि असार ७ गते देखिएको आममानिसको उपस्थिति हेर्दा र देख्दा हजारौंको संख्याका मानिसको समर्थन रवि लामिछानेले पाएका देखिन्छन् भने चुनावमा अब के होला भन्ने अनुमान लगाउन मात्र बाँकी छ ।

पछिल्लो निर्वाचनको मत परिणाम हेर्दा स्वतन्त्रले नै राजनीतिक दलहरूलाई पछ्याइरहेको देखिन्छ भने अबको आउने चुनावमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेकै दाबेदारी देखिने प्रस्टै छ । देश–विदेशमा रहेका नेपालीको समस्यालाई जीवनको दोधारको मरण र बाँच्ने अवस्थामा पुगेका धेरै नेपालीलाई ‘सीधा कुरा जनतासँग’ को लोकप्रिय कार्यक्रममार्फत उद्धार गरी सकुशल स्वदेश ल्याएका लामिछानेले सामाजिक कार्यअन्तर्गत कालिकोटको रास्कोट सामुदायिक अस्पताल तथा मुसहर बस्ती निर्माणलगायतमा गहिरो योगदान गरेको आधारमा पनि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा आउने धेरै मानिसको लर्को देखिन्छ ।