‘मिनी रंगशाला’ निर्माण अलपत्र : खेलकुद गतिविधि ठप्प
काेराेला पोस्ट जेष्ठ २७, २०७९ शुक्रबार


म्याग्दी, २७ जेठ । म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा लामो समयदेखि युवाहरुले खेलकुद अभ्यास गर्न पाएका छैनन् । खुल्लामञ्चलाई स्तरोन्नती गरी मिनि रंगशाला बनाउने काम सरु भएको बर्षौ वितेपनि बजेट अभावले अलपत्र परेको हो । खुल्ला मञ्चमा खेल अभ्यास गर्ने खेलाडीहरु राष्ट्रिय अन्तराष्ट्रियस्तरसम्म पुगिसकेपनि केही बर्षयता बेनीका युवाहरुले फुटवल लगायतको खेलकुद अभ्यास राम्रोसंग गर्न पाएका छैनन् ।

मञ्चको पुर्वाधार योजना अलपत्र बनेको र निर्माण सामाग्री अब्यवस्थित रुपमा राखिएको कारण विभिन्न समयमै आएका खेलकुद प्रतियोगिता समेत प्रभावित बनेका छन् । मिनि स्टेडियम बनाउने डिपिआर अनुसार बजेट अभावले खुल्लामञ्चमा पुर्वाधार निर्माणमा ढिलाई, सवारीसाधनको पार्कीङ र बजारको सडक कालोपत्रे गर्ने सामानहरु ढुङ्गा, गिटि र बालुवा खुल्लामञ्चमा राख्ने लगायतका गतिविधिले क्लवमा आवद्ध युवाहरुले खेलकुद अभ्यासमा कठिनाई भएको एभग्रीन युवा क्लवका अध्यक्ष निरज राम्जालीले बताए । ‘‘खुल्लामञ्चमा पछिल्लो समय खेलकुद अभ्यास ग्राहो छ, ढुङ्गा, बालुवा र सडक कालापत्रे गर्ने अल्कत्र खुल्लामञ्च राख्दा अभ्यास गर्ने मैदानको स्वरुप विग्रिएको छ भने खेलकुद अभ्यासमा युवाहरु घाईते हुने अवस्था सिर्जना भएको छ”, अध्यक्ष राम्जालीले भने– “खुल्लामञ्चको पुर्वाधार निर्माणमा ढिलाई गर्दा एभग्रीन, बौद्ध युवा क्लव, कालीपुल युनाईटेड र दोभान युवा क्लवले आयोजना गर्ने प्रतियोगिता हुन सकेको छ्रैन् ।”

खुल्लामञ्चलाई मिनी रंगशाला बनाउने योजनासहित अघि बढेपनि बजेटको निरन्तरता नहुदाँ पुर्वाधार निर्माण अलपत्र परेको छ। खुल्लामञ्च जिल्लाकै सबैभन्दा ठुलो खेलमैदान मात्र नभएर ब्यापारिक मेला महोत्सव, सास्कृतिक कार्यक्रम र राजनीतिक सभा हुने स्थलपनि हो । तर, पछिल्लो समय क्लव, विभिन्न संघसंस्था, विद्यालयले आयोजना हुने खेलकुद प्रतियोगिता र मेलामहोत्सव रोकिएको छ । बजेटमा निरन्तरता नहुदाँ निर्माणधिन प्याराफिड अलपत्र छ । विभिन्न खेलकुद प्रतियोगितामा जनप्रतिनिधिले मिनि स्टेडियम बनाउने योजना भाषणमा सिमित छ । संघ, प्रदेश र स्थानीय तहले खुल्लामञ्चको पुर्वाधार निर्माणमा प्राथमिकता नदिएको युवा क्लवको गुनासो छ ।

अलपत्र अवस्थामा रहेको खुल्लामञ्चलाई पुर्णता दिने गरी बजेटको लागि नगरमा छलफल अघि बढाउने वडानम्वर ७ वडाअध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । “तत्काल खुल्लामञ्चको सरसफाई र सवारीसाधन लगायतको सामाग्री खेलमैदान प्रवेश रोक्न गेट राख्ने काम वडाले अघि बढाएको छ”, श्रेष्ठले भने । म्याग्दी नदीको किनारतर्फ अग्लो पर्खाल निर्माण सम्पन्न भएको छ । प्याराफिड निर्माण आधार भागले पुर्णता पाएको छ भने आधा भागको प्याराफिड निर्माणमा बजेट अभावले रोकिएको छ । कालीगण्डकी किनारतर्फ खुल्लामञ्चलाई फराकिलो बनाउने किसिमले प्याराफिड निर्माण लागि सुरु गरिएको काम पिल्लर राख्ने काम मात्र भएको छ ।

जिल्लामा फराकिलो, प्याराफिटसहितको गुणस्तर रंगशाला बनाउने योजनासहित जिल्ला खेलकुद विकास समितिले २०७४ सालमा डिपिआरसहित ९ करोडको लागत अनुमान सार्वजनिक गरेको थियो । जनप्रतिनिधि राजनीतिक रुपमा बोलेको बाचा पुरा नगर्दा जिल्लामा ठुला आयोजनाहरु मध्य खुल्लामञ्च पनि अलपत्र छ ।

कालीगण्डकी र म्याग्दी नदीमा पक्की पर्खाल र पुरानो भन्दा फराकिलो ११÷११ जना फुटबल खेल्न मिल्ने योजनासहित ९६ मिटर लम्वाई र ४५ मिटर चौडाई भएको मिनी स्टेडियम बनाउने डिपिआरमा छ । हालसम्म ३ करोड भन्दा बढी लगानी भएको खुल्लामञ्चलाई ब्यवस्थित बनाउन ९ करोड भन्दा बढी बजेट आवश्यक छ । कोरोना प्रश्चात आर्थिक बर्ष ०७७÷०७८ मा बजेट विनियोजन भएन । आव ०७८÷७९ मा पनि जनपप्रतिनिधिले विगतमा दिएको आश्वासन अनुसार बजेट विनियोजन नहुदाँ खुल्लामञ्चको स्वरुप फेर्दै रंगशाला बनाउने योजना अधुरै छ ।

खुल्लामञ्चको पुर्वाधारलाई पुर्णता दिने बजेट नगरपालिकासंग नभएको मेयर सुरत केसीले बताए । उनले नगरले प्राथमिकता राखेपनि १५÷२० लाख भन्दा बढी बजेट विनियोजन गर्न नसकिने अवस्था छ । “खुल्लामञ्चको पुर्वाधार पुर्णता दिन गण्डकी प्रदेशको खेलकुद मन्त्रालयसंग बजेट लागि कुरा अघि बढाएका छौ, तर कति बजेट पर्छ भन्ने विषय अन्योल छ ”, उनले भने – “नगरपालिका आन्तरिक आय कम हुदाँ र अनुदानको रकम निश्चित मापदण्डमा रहरे विनियोजन गनुपर्छ, रंगशालाको पुर्वाधार निर्माणका लागि आवश्यक बजेटको लागि विकल्प खोजिरहेको छौ ।”