म्याग्दीमा विपद ब्यवस्थापन समितिको बैठकः नदीको सूचना दिने सम्पर्क ब्यक्ति खटाउने
काेराेला पोस्ट जेष्ठ २५, २०७९ बुधबार


म्याग्दी, २५ जेठ । बर्षायाम सुरु भएसंगै म्याग्दीका मुख्य नदीहरुको अवस्थाबारे जानकारी गराउने सम्पर्क ब्यक्ति खटाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित जिल्ला विपद ब्यवस्थापन समिति एवम् सरोकारवाला निकायको बैठकले विपद् जोखिमका दृष्टिले उच्च सम्भाब्यता रहेका क्षेत्रहरुमा विशेष निगरानीसहित पुर्व तयारी गर्नका लागि १५ वटा निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको अध्यक्षतामा बसेको बैठकले प्राकृतिक विपत्तीबाट उच्च जोखिममा रहेकालाई सुरक्षित स्थानमा सार्ने, जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी, म्याग्दी र रघुगंगा नदी तटका बस्तीलाई बाढीबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न सहज हुने गरी सम्पर्क ब्यक्ति खटाउने निर्णय गरेको छ । नदीको तटिय क्षेत्रको अवस्था नियमित जानकारी गराउन अन्नपुर्णले दाना, रघुगंगाले चिमखोला, बेनीले गलेश्वर, मंगलाले बावियाचौर मालिकाले दरवाङ र धवलागिरीले मुना र मुदीमा सम्पर्क ब्यक्ति राख्ने भएको छ ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसी, बेनी नगरका मेयर सुरत केसी, रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारी, अन्नपुर्णका अध्यक्ष भरत पुन, मंगालाका अध्यक्ष सतप्रसाद रोका, मालिका अध्यक्ष बेगप्रसाद गर्वुजा, धवलागिरीका अध्यक्ष प्रेम पुन र राजनीतिक दलका प्रतिनिधि उपस्थित थियो । सदरमुकाम बेनीबजारसहित जिल्लाका ४५ वडामध्ये २९ वटा वडा बाढीपहिरोको उच्च जोखिममा छन् ।