कालीगण्डकी प्रशारण लाइन निर्माण सम्पन्न
Koralapost पुस १९, २०७७ आईतबार


म्याग्दी, १९ पुष । म्याग्दी र मुस्ताङमा उत्पादित जलविद्युतलाई विस्तार गर्न जिल्लाको अन्नपुर्ण गाउँपालिका–३ दानामा कालीगण्डकी प्रशारण करिडोर अन्तर्गतको २२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेशन र प्रशारण लाइन निर्माण सम्पन्न भएको छ । म्याग्दीको दाना, पर्वतको खुर्कोटमा दुई वटा सबस्टेशन र बीचमा ११० वटा टावर बनाएर ३९.६ किलोमिटर तार तान्ने काम सम्पन्न भएको हो ।

आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयालले दाना र खुर्कोटमा सब स्टेशनका साथै प्रशारण लाइनको पूर्वाधार निर्माण र उपकरण जडानको काम सकिएको बताए । ‘टावर ठडाउने, तार तान्ने र सबस्टेशनको उपकरण जडान सकेर आन्तरिक परिक्षण सुरु गरेका छौ,’ उनले भने ‘सब स्टेशन चार्ज र परिक्षणको तयारीका लागि कार्यतालिका बनाउँदैछौँ ।’ करिब १५ दिनभित्र सबस्टेशन र प्रशारण लाइन सञ्चालनमा ल्याउने तयारी छ ।

एशियाली विकास बैंकको सहयोगमा नेपाल बिद्युत प्राधिकरणले सन २०१६ देखि सुरु गरेको यो आयोजना लक्ष्य भन्दा दुई वर्ष ढिला सकिएको हो । २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजना निर्माणमा तीन अरब रुपैयाँ खर्च भएको नेपाल बिद्युत प्राधिकरणले जनाएको छ । सन् २०१६ मा दुई अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । विद्युत प्राधिकरणले दाना–खुर्कोट प्रशारण लाइनलाई नवलपरासीको बर्दाघाट सम्म पु¥याउने गरि १४३ किलोमिटर लामो कालिगण्डकी कोरीडोर प्रशारण आयोजनालाई खण्ड÷खण्डमा निर्माण कार्य अघि बढाएको थियो ।

कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादीत बिजुली केन्द्रीय ग्रिडमा जोड्न सबस्टेशन र प्रशारण लाइन निर्माण गरिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए । ‘यो सबस्टेशन र प्रशारण लाइन कालीगण्डकी कोरिडोरको बिद्युत बिकासको आधार हो,’ उनले भने । जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, बाढी र पहिरोका कारण आयोजना निर्माण प्रभावित भएको हो ।

आयोजना निर्माणसँगै ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला, ५ मेगावाटको घलेम्दीखोला र १३.६ मेगावाट क्षमताको थापाखोला जलबिद्युत आयोजनाको बिद्युत केन्द्रीय लाइनमा जोडिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । थापाखोला र घलेम्दी यसअघिनै निर्माण सम्पन्न भएपनि प्रशारण लाइनको अभावमा पुर्ण क्षमतामा सञ्चालन हुन सकेका थिएनन् । निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्रिखोला जलबिद्युत आयोजनाले संरचनाको परिक्षण सुरु गरेको छ ।