म्याग्दीका पालिकालाई दुई अर्ब ११ करोड अनुदान
काेराेला पोस्ट जेष्ठ १८, २०७९ बुधबार


म्याग्दी, १८ जेठ । संघीय सरकारले म्याग्दीका स्थानीय तहहरुका लागि आगामी आर्थिक वर्ष २०७९÷८० मा कुल दुई अरब ११ करोड ६१ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । अर्थमन्त्री जनार्दन शर्माल सार्वजनिक गर्नुभएको बजेट बक्तब्यको बिबरणमा बेनी नगरपालिका र पाँच वटा गाउँपालिकालाई समानीकरण, सशर्त, बिशेष र समपुरक अनुदान शिर्षकमा सो बजेट बिनियोजन भएको उल्लेख छ ।

संघिय सरकारले हिमाली जिल्ला म्याग्दी अन्तरगत रहेका बेनी नगरपालिकालाई ५१ करोड ४२ लाख, अन्नपूर्ण गाउँपालिकालाई ३३ करोड ८३ लाख र धवलागिरी गाउँपालिकालाई २७ करोड ६७ लाख रुपैयाँ अनुदान पाउने भएका छन् । यसैगरी मंगला गाउँपालिकाले ३१ करोड २९ लाख, मालिका गाउँपालिकाले ३५ करोड दुई लाख र रघुगंगा गाउँपालिकाले ३२ करोड ३८ लाख कुल अनुदान पाउने भएका छन् ।

संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि दुई अर्ब ६९ लाख र २०७७÷७८ मा एक अरब ७७ करोड रुपैयाँ बिनियोजन गरेको थियो । संघ, प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन बाँकी अनुमानित बजेटलाई आधार मानेर स्थानीय तहहरुले आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र बजेट बाँडफाँडको प्रक्रिया थालेका छन् ।

हिमाली जिल्ला सूचिकृत हुदाँ जिल्लाले धेरै किसिमका लाभ लिन सक्ने प्रचार गरिएपनि विगतका आर्थिक बर्षभन्दा बजेट घेटेको छ । देशभरका अन्य हिमाली जिल्लाको तुलनमा बजेटको आकार बढाउनमा जिल्लाको नेताहरुको पहँुन नै नपुगेको जनताको गुनासो छ । विभिन्न पुर्वाधार निर्माणका बजेटमा मेरो पहलमा आएको बजेट भन्ने जनप्रतिनिधिहरुले बजेट आकार घट्दै जानुको कारण र बजेट बृद्धि गर्नेबारे कुनै प्रभावकारी कदम नभएको देखिन्छ ।