अन्नपूर्ण– ४ नारच्याङमा कांग्रेसको प्यानल बिजयी
काेराेला पोस्ट जेष्ठ ४, २०७९ बुधबार


म्याग्दी, ४ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । कांग्रेसबाट वडा अध्यक्षमा विजयी लोकबहादुर फगामीले ६०६ मत प्राप्त गर्नुभएको थियो । वडाअध्यक्षमा प्रतिस्पर्धी एमालेका तेज गुरुङले ४०१ मत प्राप्त गर्नुभएको थियो । वडा सदस्यहरुमा कांग्रेसका भीमबहादुर शेरपुर्जा, श्याम पुर्जा, यामकुमारी सोन्तजा र सुकमाया विश्वकर्मा निर्वाचित भएका छन् ।

एक हजार ५९ मत खसेको नारच्याङबाट गाउँपालिका अध्यक्षमा एमालेका भारतकुमार पुनलाई ४०८, कांग्रेसका बलबहादुर तिलिजालाई ५९२, उपाध्यक्षमा एमालेकी दिवाकुमारी तिलिजालाई ४१० र कांग्रेसकी ललिता तिलिजालाई ५८६ मत प्राप्त भएको थियो । चारवटा वडाको मतगणना सम्पन्न हुदाँ एमालेका पुनलेल १ हजार ६१४ मत, कांग्रेसका तिलिजाले १ हजार ४२५, उपाध्यक्षमा एमालेकी पुनले १ हजार ६२६ र कांग्रेसका तिलिजाले १ हजार ४२३ मत प्राप्त गर्नुभएको छ । वडानम्वर ५, ६, ७ र ८ को मतगणना बांकी छ ।

१२ हजार २६ जना मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा ७ हजार ८०३ मत खसेको थियो । वडानम्वर १, २ र ३ क्रमश ः एमालेका दिलिपकुमार गर्बुजा, ओमप्रकाश फगामी र रमेश पुर्जा वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ।
नेपाली कांग्रेसका उम्मेदवारले वडानम्वर ३ दानामा खसेको र गणना भएको मत संख्या फरक परेको भन्दै पुनःमतगणनाको माग भएपछि आईतबारदेखि मतगणना रोकिएको थियो । निर्वाचन आयोगले पुनः मतगणना आवश्यक नदेखिएकाले बाँकी वडाको मतगणना सुचारु गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयको सुरक्षामा बुधबार विहान १० बजेदेखि मतगणना भईरहेको छ ।