विद्यार्थीलाई स्पष्ट शब्द उच्चारण गर्न सिकाउन ‘बोल्ने किताब’ प्रभावकारी
काेराेला पोस्ट चैत्र १०, २०७८ बिहीबार


म्याग्दी, १० चैत । रघुगंगा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा प्रविधिमैत्रि शिक्षणका लागि ‘बोल्ने किताब’ लागु भएको छ । रघुगंगा भित्र रहेका ३४ विद्यालयमा १ देखि ५ सम्ममा अध्ययनरत विद्यार्थीहरुलाई स्पष्ट शब्द उच्चारण गर्न सिकाउन ‘बोल्ने किताव’ प्रयोगमा लागु भएको हो । बोल्ने किताप्रति विद्यार्थीहरुको आकर्षण र शिक्षकलाई पठनपाठन गराउन सहज भएको अमरसिंह आधारभूत विद्यालय प्रअ मोहदत्त सुवेदीले बताए । “नेपाली र अंग्रेजी भाषाहरु स्पष्ट उच्चारण गर्न सिकाउने र फलफूल तथा जनावर लगायत कितावमा समेटिएको चित्रहरुको प्रभावकारी रुपमा ब्याख्या र विद्यार्थी र शिक्षकले उच्चारण गरेको शब्दहरु रेकर्ड गरेर सुन्न सकिने भएको कारण ‘बोल्ने किताव’ प्रति विद्यार्थीहरुमा उत्सुक्ता जागेको छ”,– प्रअ सुवेदीले भने ।

विद्यालयहरुले बालकक्षादेखि ५ कक्षा सम्म उक्त बोल्ने किताबलाई पालैपालो शिक्षणमा उपयोग गर्दै आएका छन् । कक्षामा साना विद्यार्थीहरुलाई प्रयोग हुने बोल्ने र लेख्ने शिक्षण सिकाई भन्दा बोल्ने कितावले प्रत्यक्ष रुपमा पढ्न, बोल्न र शुद्ध रुपमा उच्चारण र लेख्न सहज गराएको वडानम्वर ३ स्थित मौवाफाँटमा रहेको ज्ञानोदय माविका प्रअ पशुराम गौडेलले बताए । ‘कक्षामा शिक्षकलाई धेरै बोल्न पर्दैन्, मनोरञ्जन र ज्ञानबद्र्धक कुराहरुलाई समेटिएको किताबमा कलमले देखाउँदा आफै बोलेर पढाउने भएकाले विद्यार्थीहरुलाई थप उत्सुकता र मनोरञ्जन मिल्ने गरेको छ’, प्रअ गौडेलले भने । शिक्षणमा प्रविधिको प्रयोगलाई प्रभावकारी र ब्यवहारिक बनाउन यसले थप प्रेरित गरेको छ ज्ञानोदय माविकी बोल्ने किताव पढाउने शिक्षिका देवीकुमारी भण्डारीले बताईन ।

रघुगंगा गाउँपालिकाका शिक्षा शाखा अधिकृत कृष्णप्रसाद सुवेदीले बुलतुथ डिभाईसबाट शिक्षक र विद्यार्थीहरुले बोल्ने शब्द रेर्कड गरेर बोलेको शब्द सही छ वा छैन् भनी थाहा पाउन सहयोग पुगेको बताए। ‘बालबालिकाको इच्छा, प्रविधिमैत्रि शिक्षा’ भन्ने नाराका साथ गाउँपालिकाभित्रका सबै विद्यालयमा कक्षा ५ सम्मका बालबालिकाहरुलाई पठनपाठनमा प्रयोग गर्ने गरि शिक्षकलाई तालिम दिएर बोल्ने किताबलाई प्रयोगमा ल्याइएको शिक्षा अधिकृत सुवेदीले जानकारी दिए ।

गाउँसभाबाट विनियोजन भएको रु २२ लाख ६५ हजार बजेटबाट प्रविधियुक्त बोल्ने किताबको डिजिटल पुस्तक र विद्युतिय कलम लगायतका सामाग्री गरिद गरि शिक्षकहरुलाई अभिमुखीकरण समेत गरेर उपलब्ध गराईएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । प्रति सेट रु ६५ हजार लागतमा ३३ वटा बोल्ने किताबको सामाग्री खरिद गरि सबै विद्यालयलाई गाउँपालिकाले उपलब्ध गराएको थियो ।