रुईसेमा थपिएका पर्यटन पुर्वाधार (तस्विरमा )
काेराेला पोस्ट चैत्र ८, २०७८ मंगलबार

म्याग्दी, ८ चैत । धौलागिरि आईसफल पदमार्गले समेटिएको रुईसे– भेडिओढारमा पर्यटन पुर्वाधार थपिएका छन् । रघुगंगा गाउँपालिका–२ स्थित रुईसेमा सडक, भ्युटावर, पदमार्ग, धार्मिक मठमन्दिर पुर्ननिर्माण, विद्युत, खानेपानी, तालिम हल र पर्यटन लक्षित ब्यक्तिका खाजा घर लगायतका पुर्वाधार बनेका छन् ।

पर्यटन पुर्वाधार निर्माणमा वडा र गाउँपालिकाको सहकार्य तथा प्रदेश र संघको बजेटबाट थपिएका पुर्वाधारले घुम्ने पर्यटक बढेका छन् । समन्द्री सतहदेखि २२२० मिटर उचाईमा रहेको रुईसेमा गाउँपालिका र वडाको सक्रियतामा सडक संजाल, भ्यूटावर, तालिम हल, पदमार्ग र धार्मिक मन्दिर पुर्ननिर्माणले दैनिक रुपमा यातायातको सुविधाबाट घुम्न आउने पर्यटकको संख्या बढेको वडा नम्वर २ का सामाजिक अगुवा नरबहादुर भण्डारीले बताउनुभयो । ‘यहाँ आउने पर्यटकले नजिकबाट उदाएको सुर्य, धौलागिरी, अन्नपुर्ण, नीलगिरि, चुरेन र गुर्जा लगायतका दर्जनौ मुस्कुराइरहेको हिमाल र बाईसेचौविसे राजाको पुरातात्विक सम्पदा अवलोकन गर्न पाउछन् ।’

बाईसे– चौविसे पालाको राजाहरु भग्नासेसहरु र नेपाल सरकारबाट धौलागिरी आईसफल पदमार्गअन्तरगत यसलाई समेटिएपछि गाउँपालिका र वडाको सक्रियतामा चरणबद्ध पुर्वाधार निर्माण गरिएको वडा अध्यक्ष रिमबहादुर कटुवालले बताउनुभयो । “रुईसेमा सडक, भ्यूटावर, विद्युत, नौलीबराह र देउराली मन्दिर पुर्ननिमार्ण, भगवती कोतमन्दिर पुर्ननिर्माण, पदमार्ग लगायतको पुर्वाधार थपिएपछि पर्यटकहरु यातायात सुविधामा घुम्ने संख्या बढेका छन् ।” पर्यटकलाई प्राकृतिक र धार्मिक रुपमा घुम्ने वातावरण बनाउन नौलीबराह मन्दिर र देउराली मन्दिर पुर्ननिर्माण गरिएको अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।

“रुईसेमा पुग्ने पर्यटकले पुराना पाटीपौवा, ढकमक्क फुलेको लालीगुरास, राजाको सिरानी, ग्रामिण कलासस्कृति र कलात्मक पराना ग्रामिण घरहरु अध्ययन गर्न सक्छन्। रुईसे– भेडिओढारबाट ग्रामिणबस्तीसंगै पुनहिल, करबाकेली, पञ्चकोट, गलेश्वरधाम, बेनीबजार लगायतको पर्यटकस्थल देखिन्छ ।”

हिउँदको समयमा भेडीगोठपनि भेडिओढारमा आउछन्, यहाँ आउने पर्यटकले भेडाका पाठापाठीसंग फोटो खिच्ने र रमाउने गरेको चारपुस्तादेखि भेडापालन गर्दै भेडापालक कृषक नन्दबहादुर भण्डारीले बताउनुभयो। पर्यटकलाई प्राकृति र धार्मिक आनन्दसंगै गाउँले अर्गानिक परिकारका खुवाउनका लागि नजिक रहेका साझपानी, सिझलगाउँ, हटिया, बेग, लगायतको गाउँमा होमस्टे संचालन आवश्यक रहेको स्थानीय अगुवा भण्डारीले भन्नुभयो ।

सदरमुकाम बेनीदेखि सडक सुविधाबाट गलेश्वरधाम मन्दिर हुदै गायत्री मन्दिरको दर्शनगर्दै बगैचा, पिप्ले, भगवतीस्थित भगवती कोतमन्दिर दर्शन र ग्रामिण बस्तीको दृष्यहरु अवलोकन गर्दै पर्यटक रुईसे पुग्ने गर्छन । रुईसेबाट आधा घण्टाको पदयात्राबाट भेडिओढार पर्यटक पुग्छन् । पछिल्लो समय पर्यटकिस्थलमा ब्यक्तिगत लगानीमा आवाससहितको पुर्वाधार निर्माण नहुदाँ आन्तरिक तथा बाह्य पर्यटक बसाई बढाउन सकेका छैनन् । तीन तहको सरकारले पर्यटन पुर्वाधारमा गरेको लगानी अनुसार आम्दानी भने हुन सकेको छैन् ।