रत्नेचौरमा धार्मिक महोत्सव सुरु
काेराेला पोस्ट फाल्गुन २४, २०७८ मंगलबार


बेनी, २४ फागुन । म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा सोमबारदेखि धार्मिक महोत्सव सुरु भएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेका रत्नेचौर स्थित पदम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा आयोजना गरिएको ‘रत्नेचौर धार्मिक महोत्सव–२०७८ फागुन ३० गतेसम्म संचालन हुने छ ।

लक्ष्मीहरि भगवानको २५ औं रजत जयन्ती तथा संस्थापकचार्य जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा आईतबार देखि सुरु भएको धार्मिक महोत्सवको उद्घाट्न गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र पोखरेलले गरेका थिए ।

मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटनको सर्किटमार्फत प्रदेशलाई अघि बढाउने तयारी भएको बताए । मुक्तिनाथ–विन्धबासीनी–जनकपुर–लुम्बिनीलाई जोडेर धार्मिक पर्यटन विकासका लागि पहल थालिएको छ, कोरलादेखि त्रिवेणीधामसम्म जोड्ने कालीगण्की करिडोरलाईलाई धार्मिक मार्गको रुपमा विकास गर्न सकिने मुख्यमन्त्री नेपालीको भनाई छ ।

‘‘म्याग्दी हुँदै बग्ने कालीगण्डकी सभ्यता, आस्था, संस्कृति र धरोहर पनि हो । शालीग्राम पाईने एकमात्रै नदीको रुपमा विश्वसामु नेपाललाई चिनाएको छ, कालीगण्डकी नदीको संरक्षण र विकासका लागि कार्यदल नै गठन गरेर प्रतिवेदन तयारीको क्रममा छ’’–मुख्यमन्त्री नेपालीले भने ।

उनले धार्मिक यज्ञहरुको माध्यम मार्फत धर्म, संस्कृति र परम्पराको संरक्षण संगै धार्मिक पर्यटन पूर्वाधार निर्माणमा समेत रचनात्मक सहयोग पुग्ने बताए । ‘गण्डकी प्रदेश धर्म, जात, भाषा, संस्कृति,भुगोल र रहनसहनमा विविधताले भरिपूर्ण छ ।’