रत्नेचौरमा फागुन २३ गतेबाट धार्मिक महोत्सव हुने
काेराेला पोस्ट फाल्गुन २१, २०७८ शनिबार


म्याग्दी २१ फागुन । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा फागुन २३ गतेबाट सुरु हुन लागेको धार्मिक महोत्सवको तयारीलाई तीव्र पारिएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेका रत्नेचौर स्थित पदम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा फागुन २३ देखि ३० गतेसम्म ‘रत्नेचौर धार्मिक महोत्सव–२०७८ आयोजना गरिएको छ ।

लक्ष्मीहरि भगवानको २५ औं रजत जयन्ती तथा संस्थापकचार्य जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा धार्मिक महोत्सवका रुपमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको मन्दिरका अध्यक्ष एवम् मुल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले जानकारी दिए ।

शनिवार आयोजित पत्रकार सम्मेलनमा धार्मिक महोत्सवको तयारीलाई तिब्र पारिएको जानकारी गराईएको छ । कार्यक्रममा मुल संयोजक महतले महोत्सवको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली)ले उद्घाटन गनुपुर्व साँस्कृतिक झाँकी सहित हेलिकप्टर मार्फत पुष्पवृष्टि गर्ने कार्यक्रम तय गरिएको छ ।


रत्नेचौर क्षेत्रमा रहेको धार्मिक महत्वलाई उजागर तथा प्रचार प्रसार र लक्ष्मीहरि मन्दिरको चौतर्फि विकासका लागि महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष एवम् मुल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष टेकबहादुर रावलले बताए । ‘‘ तोरीवारीका कारण भाइरल बनेको रत्नेचौरमा धार्मिक पर्यटनको समेत सम्भावना छ, यो धार्मिक महोत्सवले यहाँका धार्मिक महत्वको गरिमा बढाउन सहयोग पुग्ने हामीले विश्वास गरेका छौँ’’–उनले भने ।

महाज्ञयको अवसरमा विभिन्न जिल्लामा रहेका धार्मिकस्थलबाट समेत भक्तजनहरुको आगमन हुने जनाइएको छ । धार्मिक महोत्सवका प्रचारप्रसार तथा आवश्यक तयारीका लागि १५१ सदस्यीय समिति गठन गरि तयारीलाई तिब्रता दिईएको प्रचार प्रसार समितिका संयोजक बिक्रम बोगटीले जानकारी दिए । महोत्सवमा छिमेकी जिल्लाका साथै विभिन्न क्षेत्रमा रहेका धार्मिक संघसंस्थालाई समेत सहभागीताका लागि अनुरोध गरिएको छ । यसअगाडी समेत विभिन्न समयमा आयोजित महायज्ञबाट मन्दिर परिसरमा भौतिक संरचना निर्माण गरिएको थियो ।


भौगोलिक रुपमा रमणिय र मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको रत्नेचौरको धार्मिक महिमालाई उजागर गर्न महोत्सव सहयोगी हुने जगतगुरु रामानुजाचार्य यतिराज स्वामी हिमालय बाबाजीले बताए । हिमालय बाबाजीको तत्वावधानमा महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ । मन्दिर स्थापना भएको २५ बर्ष र मन्दिरका संस्थापकाचार्य १०० बर्ष पुरा भएको अवसरमा आयोजित सप्ताहव्यापी महायज्ञमा संकलन हुने रकमलाई समेत यस क्षेत्रको धार्मिक पर्यटन पुर्वाधार निर्माणमा परिचालन गरिने मुल आयोजक समितिका उपाध्यक्ष चिरञ्जीवी बोगटीले जानकारी दिए ।