नेपाल बैंक बेनी शाखामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि
Koralapost पुस २६, २०७८ सोमबार


म्याग्दी, २६ पुस । नेपाल बैंक बेनी शाखामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालबाट नेपाल बैंकमा कार्यरत ५ जना कर्मचारीको नमुना संकलन गरि पिसिआर परिक्षणको लागि पोखरा पठाएको रिपोटमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।


कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य कर्मचारीको नमुना संकलन गरि परिक्षणको लागि पठाईएको बैंकका प्रवन्धक मोहन लामिछानेले बताउनुभयो। उहाँले अतिआवश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेका छौ, राजश्व लगायतको अति जरुरी सेवा लिन जनस्वास्थ्य मापदण्ड पालना गरेर आउन सेवाग्राहीलाई प्रबन्धक लामिछानेले आग्रह गर्नुभएको छ । अन्य कर्मचारीको आउने रिपोट अनुसार सेवाहरु बन्द गर्ने वा नगर्ने निर्णय लिने उहाँले भन्नुभयो ।


जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले जिल्लामा कोरोना संक्रमण बढ्न थालेको छ, शिक्षा मन्त्रालयले आगामी माघ १५ गते बन्द गर्ने निर्णयको सन्र्दभमा छलफल गर्न मंगलबार दिउसो १ बजे डिसिएमसी र स्थानीय तहका अध्यक्ष विचको बैठकबाट आवश्यक निर्णय लिने बताउनुभयो । प्रजिअ रानाले स्वास्थ्य मापदण्ड पालना सम्वन्धी, जिल्ला र स्थानीय तहमा रहेका स्वास्थ्य पुर्वाधारको तयारी र खोप लगाउन छुटेका ब्यक्तिलाई खोप लगाउने विषयमा छलफल बैठकमा हुने जानकारी दिनुभयो ।