जलवायु परिवर्तनको प्रभाव
Koralapost पुस २३, २०७८ शुक्रबार



धर्मेन्द्र झा /

पछिल्ला केही दिनयता मौसममा अस्वाभाविक परिवर्तनका सङ्केत देखिएका छन् । उपत्यकामा चिसो निकै बढेको अनुभव गरिएको छ । पहाडी क्षेत्रमा हिमपात भएको छ भने हुने क्रम पनि जारी छ । यस्तै हालका दिनमा तराई–मधेसका बासिन्दाका लागि धेरै ठूलो समस्या बनेको छ– यहाँको अस्वाभाविक चिसो । तराईका करिब सबै जिल्ला अहिले हुस्सु र कुहिरोले डम्म ढाकिएका छन् । हुस्सु र कुहिरोका कारण उत्पन्न चिसोबाट तराई कठ्याङ्ग्रिन बाध्य छ । स्थानीयहरू यसैलाई शीतलहर भन्दछन् । शीतलहरबाट उत्पन्न प्रभावका कारण तराईको जनजीवन अस्वाभाविक रूपले कष्टकर बनेको छ ।

स्वास्थ्य संस्थाहरूमा बिरामीको भीड बढेको छ । वृद्धवृद्धा र बालबालिकामा श्वासप्रश्वास, निमोनिया, कोल्ड डायरियाजस्ता समस्या अत्यधिक देखिएका छन् । समस्याको तत्काल समाधान देखा पर्ने सङ्केत छैन । सम्भावना पनि छैन । भित्री मधेसबाहेकका तराईका सबैजसो जिल्लामा देखा परेको यो शीतलहरका कारण शैक्षिक, यातायात, आर्थिक कारोबारलगायत समाजका प्रायः सबैजसो क्षेत्र प्रभावित बन्न पुगेका छन् । विगत एक सातादेखि कुहिरोले छोपिएको मधेसका प्रायःजसो जिल्लामा शैक्षिक संस्थाहरू बन्द गर्न थालिएको छ भने यातायातजन्य दुर्घटनामा वृद्धि भइरहेको छ । विमान सेवा पनि प्रभावित भइरहेका छन् । प्रशासन भने केही क्विन्टल दाउरा वितरण गरेर आगो सल्काउँदैमा जिम्मेवारीबाट उन्मुक्तिको प्रयासमा तल्लीन देखिन्छ । हुनेखानेहरू घाम खोज्दै पहाड उक्लिरहेका छन् भने मधेसमा चिसोबाट जीवन प्रभावित हुनेको सङ्ख्या दिनहुँ बढिरहेको छ । यस पटक मधेसबाट चिसो छल्न पहाड उक्लनेका लागि पनि अवस्था अनुकूल छैन । कारण यता घाम लाग्ने गरे पनि चिसो भने बढेको अनुभव गरिएको छ ।

केही वर्ष पहिलेसम्म पहाडका बासिन्दा चिसोबाट बच्न तराई झर्ने गरेको कुरा विस्मृतिमा गइसकेको छैन । पहाडका धेरै मानिसको तराईमा खेती हुने गर्दथ्यो र उनीहरू पहाडको चिसो छल्न खेती झर्ने गरेको कुरा धेरै पुरानो भएको छैन । समाजका धेरै व्यक्ति अहिले पनि यस तथ्यको साक्षी छन् । अहिले अवस्थामा परिवर्तन आएको छ । चिसोबाट बच्न पहाड उक्लिनुपर्ने अवस्थाको सिर्जना भएको छ । तराई बाक्लो हुस्सुका कारण सूर्यको किरण माटो छुुन असमर्थ भइरहेको बेला काठमाडौँलगायत पहाडका जिल्लामा पारिलो घामले न्यानो बनाइरहेको छ । कहाँसम्म भने नवलपरासीको दाउन्ने, जो थोरै उचाइमा अवस्थित छ, मा दिउँसोभरि घाम लाग्छ भने दाउन्नेबाट करिब आठ किलोमिटरको मात्रै दूरीमा रहेको बर्दघाट कुहिरोले डम्म छोपिएको हुन्छ । विगत केही वर्षयता लगातार यस्तै अस्वाभाविक प्रकृतिको सिकार बन्दै आएको तराईको यो नियति स्वयंमा नौलो होइन ।

सुदूरविगतमा पनि शीतलहर चल्ने गथर््यो तर यदाकदा मात्र । तराईका बूढापाका शीतलहरका आधारमा आफ्ना र केटाकेटीका उमेर मापन गर्थे । समयको कालक्रम खुट्याउँथे । शीतलहर उनका लागि स्मरणीय बन्ने गरेको थियो तर अहिले समय फेरिएको छ । शीतलहरलाई नियतिका रूपमा हेर्न थालिएको छ । मौसम र जलवायु पनि फेरिएको छ । अहिलेका पुस्ताका लागि शीतलहर नहुँदाको वर्ष स्मरणीय बन्ने बाध्यकारी अवस्थाको सिर्जना भएको छ । आखिर किन यस्तो भइरहेको छ त ? यस्तो अवस्थाको विद्यमानताका लागि को जिम्मेवार हो ? यसको उत्तर खोज्ने कार्य सहज छैन । सबभन्दा महìवपूर्ण कुरा त यसको उत्तर खोज्ने यथोचित प्रयास पनि भएको पाइएको छैन । नेपालमा यससम्बन्धी बहस पनि चल्न सकेको छैन । समस्या तराईमा मात्र होइन पहाड र हिमालमा पनि छ । कहीँ अस्वाभाविक रूपमा हिउँ पर्ने गरेको छ भने कतै हिउँ पग्लेर हिमालका नाङ्गा चट्टान त्यत्तिकै देखिइने स्थितिको पनि निर्माण भएको छ । कारणको खोजी गर्दै जाउँ, किन यस्तो भइरहेको छ ? कारण खोज्न सकिए समाधान पनि खोज्न सकिएला । यस्तो अवस्थामा एउटा कुरा के सत्य हो भने पछिल्ला केही वर्षयता चिसो छल्न पहाडबाट तराई ओर्लने नभई तराईबाट पहाड उक्लिनुपर्ने बाध्यकारी अवस्था उत्पन्न भएको छ । यो प्रवृत्ति स्वयंंमा महत्वपूर्ण छ ।

यस्तो विषम प्रकृति निर्माणका पछाडि जलवायु परिवर्तन मुख्य कारण हो । जलवायु परिवर्तनबाट सिर्जित विश्वव्यापी प्रभावबाट नेपाल पनि अप्रभावित भइरहन सकेको छैन । यसैको परिणाम हो, तराईको ठिहि¥याउने चिसो । कहाँसम्म भने जलवायु परिवर्तनको प्रभावका कारण समुद्री धारमा आएको बदलावबाट उत्पन्न प्रभावबाट सिर्जित लानिनो र एलनिनो असरबाट नेपाल पनि वञ्चित छैन । हामीकहाँ अझै जलवायु परिवर्तनको अध्ययनको क्रम अपेक्षित रूपमा सुरु हुन सकेको छैन । अहिले पनि यससम्बन्धी बहस बुद्धिविलासमा मात्र केन्द्रित देखिन्छ । त्यो पनि राजधानीमा केही सीमित वर्गमा । सङ्घीयता र राज्य पुनर्संचनाको नाममा पहाड र तराईको नाममा राजनीति गर्नेहरूको प्राथमिकतामा यो विषय पर्न सकिरहेको छैन । यो दुःखद पक्ष हो मुलुकको वर्तमान अवस्थामा तराई र पहाडमा देखिएको जलवायु परिवर्तनको विद्यमान प्रभावबारे सोचिनु अपेक्षित छ । होइन भने, भोलिका दिनमा यो समस्या भयावह बन्ने निश्चित छ ।

गर्मीको मौसममा चरम गर्मीको सिकार हुनुपर्ने र चिसो याममा चरम चिसोको सिकार हुनुपर्ने मरुभूमीय वातावरण निर्माणको सँघारमा रहेको तराई–मधेसले भविष्यका लागि विकल्पको खोजीको प्रारम्भ आजैबाट गर्नु जरुरी छ । त्यसो त जलवायु परिवर्तनको प्रभाव पहाडमा पनि दृष्टिगोचर हुँदैछ, तर चुरे पर्वत शृङ्खलाको विनाश भइरहेको अवस्थामा तराईमा यसको सर्वाधिक प्रभाव पर्ने अवश्यम्भावी छ । हिमनदी पग्लिने क्रमसँगै तराईका खोलानालाको सतह बढेको छ । यहाँको हरियाली घटेको छ । नदीकटानको शृङ्खला तीव्र बनेको छ र यो सबैको सम्बन्ध जलवायु परिवर्तनसँग छ । जलवायु परिवर्तनको शृङ्खलालाई मधेस, पहाड र नेपाल एक्लैले नियन्त्रण गर्न सम्भव नहोला तर यसको अध्ययन र आकलन गरेर भविष्य सुरक्षाको जोहो भने गर्न सकिन्छ । यसका लागि वातावरणीय सन्तुलनको सोच सबै तहका सरकारले विकसित गर्नु जरुरी छ । नेपालजस्तो देशका लागि जलवायु परिवर्तन एक भयावह चुनौती हो । जलवायु परिवर्तनकै कारण दक्षिण एसियाली राष्ट्र मालदिभ्सको अस्तित्व सङ्कटमा रहेको कुरा प्रचारमा यसअघि नै आइसकेको छ । नेपालका सन्दर्भमा त्यस्तो भविष्यवाणी अहिलेसम्म भएको छैन तर नेपाल यस प्रभावबाट घनिभूत रूपमा प्रभावित
हुने निश्चित छ ।

सामान्यतया जलवायु परिवर्तन भन्नाले वायुमण्डलमा सौर्य शक्तिको सञ्चयमा असन्तुलन, पृथ्वीको औसत तापक्रममा परिवर्तन आउनु, वर्षा हुने प्रवृत्तिमा परिवर्तन आउनु र हावा तथा हुरीबतासको चालमा परिवर्तन आउनु भन्ने बुभिन्छ । यस्तो अवस्थामा जलवायु परिवर्तनका सूचकलाई पनि ध्यानमा राख्नु जरुरी छ । विद्वान्हरूले जलवायु परिवर्तनको सूचकका रूपमा पानी पर्ने समय, मात्रा र अन्तरालमा भइरहेको परिवर्तनलाई स्वीकार गरेका छन् । यस्ता अन्य सूचक पनि छन् । तापक्रममा भइरहेको वृद्धि, अतिवृष्टि र अनावृष्टि, हिमालबाट छिटो–छिटो हिउँ पग्लिदै जानु, समुद्रको सतहमा वृद्धि हुनु, पहिले–पहिले लगाइने गरेका बाली आजकल लगाउँदा उत्पादन नहुने या कम हुने, पहाड र हिमाली क्षेत्रमा समेत लामखुट्टेको प्रकोप देखिनु, उच्च पहाडी र हिमाली क्षेत्रमा रहेका घाँसे मैदान मरुभूमीकरण हँुदै जानु आदि यसका सूचक हुन् ।
उपर्युक्त सूचकहरूको अध्ययन विश्लेषण गरिएमा नेपालमा पछिल्ला वर्षमा मौसममा देखिने गरेको अस्वाभाविक परिवर्तनको मूल कारण जलवायु परिवर्तन नै हो भन्ने सहजै बुझ्न सकिन्छ । जलवायु परिवर्तनका कारण हरितगृह ग्यासको विसर्जनको मात्रा बढेकाले पृथ्वीमा प्रतिकूल अवस्थाको सिर्जना हुन पुगेकोमा विमति हुन सक्दैन । यस तथ्यलाई दृष्टिगत गरी नेपालले जलवायु अनूकूलनका कार्यक्रमलाई तीव्रता प्रदान गर्नु अपरिहार्य छ । यसको विकल्प छैन ।

साभार गोरखापत्र अनलाईनबाट