बहराइनमा ज्यान गुमाएका पाईजाको परिवारलाई मोनाको सहयोग
Koralapost पुस २०, २०७८ मंगलबार


म्याग्दी २० पुस । रोजगारको शिलसिलामा बहराईनमा ज्यान गुमाएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका हिराबहादुर पाईजाको परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले रु ५० हजार आर्थिक सहयोग गरेको छ । प्रवासी भूमिमा नै ज्यान गुमाएका पाईजाको परिवारको राहतका लागि मोनाले स्थापना गरेको आपतकालिन राहतकोषबाट उक्त सहयोग गरिएको हो ।

मंगलवार बेनीमा मोनाका सचिब सुबोध बरुवालले दिवंगत पाईजाकी श्रीमती आसमायाँ पाईजा, छोरी एनिसा र छोरा अमितलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए । दिवंगत पाईजाका दुई छोरा र एक छोरी छन् । स्वास्थ्यमा समस्या आएपछि गत मंसिरमा ५७ बर्षिय पाईजाको बहराइनमा नै निधन भएको थियो । पाईजा म्याग्दी प्रवासी नेपाली संघ (मोना) बहराईनको सल्लाहकार थिए ।

घरमुलीको प्रवासमै निधन भएको र आम्दानीको स्रोत गुमेपछि घरपरिवारको राहतका लागि मोना अन्तराष्ट्रियको बैठकबाट सहयोग उपलब्ध गराउने निर्णय भए बमोजिम उक्त सहयोग हस्तान्तरण गरिएको सचिब बरुवालले बताए ।