न्यु वेष्ट प्वाईन्ट र बुद्ध एकेडेमी जेसीज कपको फाईनलमा
काेराेला पोस्ट मंसिर २५, २०७८ शनिबार

म्याग्दी २५ मंसिर । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको फाईनलमा न्यू वेष्ट प्वाईन्ट र बुद्ध एकेडेमी पुगेका छन् । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नाराका साथ सञ्चालन भएको १९ औँ संस्करणको जेसीज कपको फाईनलमा पुगेका दुई विद्यालयको प्रतिस्पर्धा आईतबार खुल्लामञ्चमा हुनेछ ।

खुल्लामञ्चमा शनिबार भएको सेमिफाईनलमा न्यु वेष्ट प्वाईन्ट विद्यालयले केवी एकेडेमी दरवाङलाई शुन्यका विरुद्ध ३ गोलले पराजित गरेको थियो । त्यस्तै फाईनलमा पुगेको बुद्ध एकेडेमीले किसानी मावि धारापानीलाई शुन्यका विरुद्ध २ गोलले पराजित गरेको म्याग्दी जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने मुल संयोजक कुमार बानियाँले जानकारी दिए । जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित फुटवल प्रतियोगिताको मुख्य प्रायोजक सन्तोष श्रेष्ठ स्मृति कोष रहेको छ। जेसीज कप प्रतियोगितामा जिल्लाका २१ विद्यालयको सहभागिता रहेको थियो ।