समृद्धिका सक्कली अभियन्ता महावीर पुन
Koralapost मंसिर २३, २०७७ मंगलबार

बाबुराम निउरे/ देशमा समृद्धिको सबैभन्दा धेरै कुरा गर्नेहरूमा राजनीतिक दलका नेता पर्दछन् । विभिन्न क्षेत्रका विज्ञ तथा विद्वानहरूले पनि लेख, प्रवचन तथा अन्तरवार्तामार्फत समृद्धिका कुरा गरिरहेका हुन्छन् ।  समृद्धिको आवाज सुन्न थालेको धेरै भयो तर महसुस गर्न पाइएको छैन र तत्काल कायापलट हुने सम्भावना पनि देखिँदैन । आआफ्नो क्षेत्रमा काममै नभिडेसम्म, नेताहरूको भाषण र घोषणापत्र तथा  विद्वानहरूका सल्लाह सुझावले मात्र समृद्धि सम्भव रहेनछ ।

भाषण, घोषणापत्र तथा  विद्वानहरूका सल्लाह सुझावले मात्र समृद्धि सम्भव नहुने भए पनि आफैलाई समृद्धिको अभियन्ता भन्न हाम्रा नेताहरू तथा विभिन्न नामका सङ्घसंस्था तथा निकायका नाइकेहरूले कुनै सङ्कोच मान्दैनन् । देश र जनताको नाममा राजनीति गर्ने, अवसर पाएपछि पारिवारिक तथा आसेपासे बाहेकलाई मतलब नराख्ने, समग्र जनताको समृद्धिको नारा चिच्याउने तर व्यवहारमा सिन्को नभाँच्ने अधिकांश राजनीतिक दलका नेता तथा विभिन्न क्षेत्रका प्रमुखहरू समृद्धिका अभियन्ता हुन् भनेर अब स्वीकार्न सकिँदैन ।

अधिकांश नेताको कार्यक्षमता देखिसकेर होला उनीहरूबाट समृद्धिको कुनै आसा छैन ।  तर देशमा दलीय नेताबाहेक राष्ट्रिय समृद्धिमा योगदान पुर्याउन सक्ने विभिन्न क्षेत्रका, बौद्धिक  व्यक्तित्व पनि प्रशस्तै भएकाले केही आसा जागेर आउँछ । अनि कोहीकोही बेला जिज्ञासा लाग्छ, अधिकांश पढेलेखेका मान्छेसँग ज्ञान सँगसँगै विवेक पनि हुने हो भने ! विभिन्न क्षेत्रका विज्ञहरूले आआफ्नो क्षेत्रमा परिवर्तन भएको देख्ने सोच राख्ने र त्यसका लागि योगदान पनि गर्ने हो भने ! व्यक्तिगत समृद्धिको प्रतिस्पर्धामा तँछाड मछाड गरिरहेको वर्तमान भौतिक संसारमा, दलका नेताहरू बाहेकका सम्भावित वर्गबाट पनि समृद्धिका लागि योगदान गर्ने बिरलै भेटिन्छन् ।

व्यक्तिगत एवं पारिवारिक सुख र समृद्धिका लागि कुनै नीति, नियम, पद्धति, तथा अनुशासनको प्रवाह नगर्ने हाम्रो जस्तो गरिब देशमा आर्थिक एवं बौद्धिक हिसाबले सम्पन्न रहेका थुप्रै नागरिकको बीचमा निजी स्वार्थभन्दा माथि उठ्न सक्ने अलि फरक स्वभावका मान्छे पनि फाटफुट देख्न पाइन्छ । आफू र परिवारभन्दा माथि उठेर देशको समृद्धिका लागि दिनरात खट्ने समृद्धिका केही सक्कली अभियन्तामध्ये एक हुन् महावीर पुन ।   

हाम्रो देशका अधिकांश संचारमाध्यमको मुख्य विषय राजनीति र नेता हुन्छन् ।  यही कारणले पनि संचारमाध्यमले पनि समृद्धिलाई ऊर्जा दिने र समग्र समाजमा सकारात्मक सन्देश प्रवाह  गर्नेभन्दा पनि नेताहरूकै बकम्फुसे गफलाई प्राथमिकता दिएको पाइन्छ । बोली र व्यवहारमा कुनै मेल नखाने ठूला भनाउँदालाई अनावश्यक रूपमा महत्त्व दिइरहने सञ्चारमाध्यमको शैलीले बोली सँगसँगै काम पनि गर्नेहरूलाई ओझेलमा पारिरहेको हुन्छन् । प्रत्यक्ष सहभागी  भएर योगदान गर्ने र सफल हुने व्यक्ति तथा संस्थालाई आम नागरिक समक्ष निष्पक्ष रूपमा चिनाएर सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुन्छ ।

सामाजिक सञ्जालमार्फत लगभग दिनदिनै जस्तो विभिन अपडेटसहित महावीर पुनको नेतृत्वमा स्थापित र सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रका काम र उपलब्धिहरू हेर्न र सुन्न पाइन्छ । तर केही समयअघि केही मिडियाले पनि महावीर पुन र उनको नेतृत्वमा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रको विषय उठान गरेका थिए । यस्ता समाचारले धेरै मानिसलाई कुनै न कुनै रूपमा प्रेरणा जगाइराखेको हुन्छ ।   

सफलता के हो भन्ने कुरा मानिसअनुसार फरक फरक हुन्छ । कसैलाई सरकारी जागिर खानु, व्यक्तिगत आर्थिक उन्नति गर्नु, कसैलाई ठूलो उद्यमी बन्नु, कसैलाई महँगो गाडी चढ्नु, कसैलाई अरूको सेवा गर्ने अवसर पाउनु अनि त्यस्तै त्यस्तै । अझै पनि हाम्रो देशका थुप्रै जवानलाई राहदानीमा छाप लगाई जहाज चढेर भारतबाहेक अर्काे देशमा श्रम गर्न जाने अवसर पाउनु पनि ठूलै सफलता प्राप्त गर्नु हो । एउटा गरिब देशको दुर्गम गाउँमा हुर्केर अमेरिकाको विश्वविद्यालयमा उच्च शिक्षा प्राप्त गर्ने अवसर पाउनु कुनाकाप्चामा बस्ने थुप्रै नेपालीको लागि सामान्य कुरा होइन । थुप्रै नेपालीले यस्तो सफलता चुमेर आफ्नो जिन्दगीमा कायापलट गरेका छन् । तर यो सफलताले  आफ्नो व्यक्तिगत जिन्दगीमा खासै प्रभाव नपारेको अनौठो व्यक्ति हुन् महावीर पुन ।

केही वर्षअघिदेखि नेपालको सबैभन्दा ठूलो र पुरानो, देशकै विद्वानहरूको केन्द्रबिन्दुको रूपमा लिन सकिने त्रिभुवन विश्वविद्यालय परिसरमा राष्ट्रिय आविष्कार केन्द्रको नाममा एउटा अनुसन्धान प्रयोगशाला सञ्चालित छ । यस संस्थाका विभिन्न क्रियाकलापबारे  पत्रपत्रिका तथा टेलिभिजनबाट भन्दा पनि फेसबुक तथा ट्विटरका माध्यमबाट सर्वसाधारण नागरिकले थाहा पाइरहेका हुन्छौँ । 

महावीर पुनको नेतृत्वमा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रको नजिकै त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि सङ्काय छ । त्रिभुवन विश्वविद्यालयको उक्त सङ्कायमा विज्ञानसँग सम्बन्धित विभिन्न विषयमा स्नाकोत्तरदेखि अनुसन्धान तहसम्म अध्ययन अध्यापन हुन्छ ।  पक्कै पनि ती विभिन्न सङ्कायमा अध्यापन गर्ने प्राध्यापकहरू देश विदेशमा गएर अध्ययन अनुसन्धान गरी ज्ञान र अनुभवले खारिएका नेपाल सरकारबाट पारिश्रमिक प्राप्त गर्ने  विज्ञहरू हुनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालयको विज्ञान सङ्कायबाहेक नितान्त विज्ञान तथा प्रविधिको विकासमा मात्र केन्द्रित रहने गरी स्थापित ‘नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान’ नामको सरकारी स्वामित्वको एउटा राष्ट्रिय अनुसन्धान केन्द्र छ । ‘राष्ट्रिय विकासका लागि विज्ञान तथा प्रविधि’, मूल मन्त्र भएको उक्त संस्था झन्डै ३९ वर्षअघि स्थापना गरिएको हो ।

महावीर पुनले प्रविधिको विकास बिना विकास र परिवर्तन कठिन हुन्छ । त्यसैले प्रविधिमा लगानी गरौँ, प्रविधिको विकास गरौँ प्रविधिले कार्यसम्पादनमा सहजता र सरलता ल्याउँछ अनि मात्र देश समृद्धितिर अघि बढ्छ भनेर दिनरात चिच्याइरहेको छ । तर विज्ञान तथा प्रविधिको क्षेत्रका विद्वान प्राध्यापक र विज्ञहरूको कक्षाकोठाभन्दा बाहिर आवाज सुन्न नपाउनु र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको कुलपति कसको पोल्टामा पर्याे भन्ने सामाचार सुन्नुबाहेक अरुबेला सधैँ निदाएको छ । कुनै अनुसन्धानले कुनै सर्वसाधारणको कार्यसम्पादनमा सहजता थपेको समाचार सुन्न नपाउनु नेपालीको दुर्भाग्य हो ।   

केही समय अगाडि (राजनीतिक व्यक्तित्व) झलनाथ खनाल नाम जोडिएको एक संस्थालाई सर्प अध्ययनका लागि भनी ७२ करोड रूपयाँ सरकारले सहयोग गरेको समाचार आएको थियो । यसरी नै आआफ्ना सरकारको पालामा दलीय समर्थनको आधारमा सरकारको तर्फबाट विभिन्न संस्थाहरूलाई सहयोग गरेको सुन्न पाइन्छ । कोही नेताको पुच्छर तथा दलको समर्थक नभएको भएर होला कुनै पनि सरकारले महावीर पुनले परिकल्पना गरेको प्रविधिको विकासको अवधारणालाई खासै चासो दिएको देखिँदैन । दलीय समर्थन नभए पनि राम्रो कामलाई हौसला दिनुपर्छ भन्ने स्तरको चेतनाको विकास हाम्रो देशका सरकार तथा विपक्षी दलका अधिकांश राजनीतिक व्यक्तित्वमा नभएको कुरा सहजै अड्कल गर्न सकिन्छ । 

प्रविधिको विकासले मात्र देश विकास गर्न सकिन्छ भन्ने महान सोच राख्ने महावीर पुनको दैनिकी र जीवनशैली भने कल्पनै गर्न नसकिने सरल देखिन्छ । उहाँले विकट गाउँमा आफ्नो बाल्यकालमा भोगेको जीवनशैलीलाई अमेरिका लागायत संसारका विभिन्न सम्पन्न तथा विकसित राष्ट्रहरूको बसाइ, भोगाइ तथा भ्रमणले कुनै पनि परिवर्तन ल्याएको देखिँदैन । साँच्चै भन्ने हो भने किताबमा पढिएका महात्मा गान्धी र गौतम बुद्धभन्दा अझ प्रभावकारी प्रत्यक्ष देख्न र सुन्न पाइएका महावीर पुन सादा जीवन उच्च विचार भएका जिउँदा उदाहरण हुन् ।  

कुनै अवसरलाई राम्रोसँग प्रयोग गर्याे भने ठूलो सफलता प्राप्त गर्न सकिन्छ ।  महावीर पुनले पनि भाँैतारिदा भौँतारिँदै अमेरिका जाने मौका पाउनुभएछ । त्यस्ता अवसर पाउने धेरै नेपालीहरू हुनुहुन्छ । नेपाल सरकारको उच्च ओहदाका कर्मचारीहरू समेत युरोप तथा अमेरिका पुगेर नफर्केका थुप्रै उदाहरण छन् । कतिपयले नेपाल फर्केर पनि आफ्नो पेसागत जिम्मेवारी होइन र पारिवारिक समृद्धिभन्दा बाहिर कुनै चासो नदिएको देख्न सकिन्छ । अन्य सफल व्यक्तित्वहरूसँग तुलना गरेर मूल्याङ्कन गर्दा, महावीर पुन एउटा नितान्त फरक र परिवार तथा आफ्नो समुदायभन्दा पनि देशकै लागि जन्मेका नेपाली हुन् । 

महावीर पुनकै पृष्ठभूमिमा हुर्किएर सफलता प्राप्त गरेका कतिपय मानिस आफूलाई कुनै समुदायको अगुवाका रूपमा चिनाई विभिन्न उत्पीडित समुदायका उत्थानको नाममा राजनीति गरी उत्पीडित समूहको प्रतिनिधिको रूपमा समृद्ध जीवन बिताइरहेको पनि देखिराखेकै छौँ ।  कतिपयले महिला र पुरुषबाहेक मानिसको बीचमा कुनै फरक नभएको अभ्यास गरेका देशहरूमा अध्ययन र अनुभव गरेर स्वदेशमा फर्केपछि पनि समग्र नागरिक र समाजको विकासको लागि संवाहकको रूपमा भन्दा पनि सामाजिक बिखन्डन निम्त्याउने खालका अभिव्यक्ति व्यक्त गरेको पनि सुनिरहन पाइन्छ । 

देश निर्माणको नाममा लडिरहेका हाम्रा कतिपय नेताले महाभारत लगायत विभिन्न ग्रन्थका पात्रको उदाहरण दिएर भाषण गरेको पनि सुनिरहन पाइन्छ । कतिपय नेताका भाषणमा घुसाइने दृष्टान्त सुन्दा उनीहरूले जान्न बाँकी केही छैन तर व्यवहारमा परिवर्तन चाहिँ कहिल्यै देख्न पाइँदैन । महावीर पुनको विचार र जीवनशैली हेर्दा भौतिक विज्ञानको अभ्यासकर्ता भए पनि आध्यात्मिक कुराले पनि प्रभावित भएजस्तै देखिन्छ । उनलाई भौतिक सुख प्राप्ति कुनै महत्त्वपूर्ण कुरा होइन । महावीर पुनले विभिन्न अन्तरवार्तामा व्यक्त गरेको विचारअनुसार उनलाई  मरेर लानु केही छैन र सकुन्जेल निःस्वार्थ सेवा गर्नुमा नै उनी धेरै खुसी हुन्छन् ।

सायद महावीर पुनलाई गीता पढेर बस्ने फुर्सत छैन तर उनको व्यवहारमा एउटा पारिवारिक युद्धको माहोलमा अन्योलमा परेका अर्जुनलाई श्रीकृष्णले दिएको सन्देशले पूरै प्रभाव पारेको जस्तै देखिन्छ । संसारका विभिन्न भाषामा अनुवादित भएर मानव सभ्यताको हिसाबले धेरै अगाडि पुगिसकेका र भौतिक चिजले सम्पन्नता प्राप्त गरिसकेका मुलुकमा समेत विशेष रुचि साथ अध्ययन तथा प्रचार प्रसार गरिएको पूर्वीय दर्शनको एउटा महत्त्वपूर्ण ग्रन्थ महाभारतको सार भागवत गीतामा उल्लेख गरेअनुसार एउटा ज्ञानी विवेकयुक्त मानवले सम्पूर्ण मानव एवं प्राणी जगतमा कुनै विभेद देख्दैन । अर्थात सबैमा समान दृष्टिकोण राख्दछ । गीतामा भनिएको छ

विधाविनयसम्पन्ने ब्राह्माणे गवि हस्तिनि

शुनि चैव स्च्पाके च पण्डिता समदर्शिन

एउटा ज्ञान र विनयले सम्पन्न व्यक्तिमा हुनेपर्ने गुण महावीर पुनको व्यवहारमा झल्किन्छ । सबै तह र तप्का तथा सबै जात जातिका मानिससँग कुनै विभेदको दृष्टिकोणले नहेर्नु उनको परिचय हो ।  

त्यस्तै भागवत गीतामा लेखिएको छ–

रागद्वेष विमुक्तैस्तु  विषयानि इन्द्र्यैश्वरन । आत्मवश्यै विर्धेयात्मा प्रसादमधिगच्छति ।

यसको अर्थ हुन्छ, जसले नियन्त्रित स्वतन्त्रताको प्रयोग गरी आफ्नो इन्द्रियलाई नियन्त्रणमा राख्न सक्छ  अर्थात जो प्राप्ति तथा गुमाउनुमा केही मतलब गर्दैन उसले कृष्ण लोकमा आफ्नो स्थान सुरक्षित गर्दछ । व्यक्तिगत खुशीको लागि कुनै भौतिक प्राप्तिमा आशक्ति नभएको र आफ्नो क्षमताको आधारमा आफूले उपभोग गर्न सम्भव भएको कुरा गुमाएकोमा महावीर पुनलाई कुनै पश्चाताप भएको देखिँदैन । 

दिन रात नभनी महावीर पुन लागायत अन्य अनुसन्धानकर्ताहरू अनुसन्धानमा भिडिरहेको हामी विभिन्न सामाजिक सञ्जालमार्फत जानकारी पाइराखेका हुन्छौं । विकट गाउँमा इन्टरनेट जडान गर्ने, ड्रोनको माध्यमबाट अत्यावश्यक वस्तुको ढुवानी गर्ने, किसानको खेती बाली जोगाउन जङ्गली जनावर भगाउने मेसिन बनाउने हँुदै अहिले महामारीको अवस्थामा स्वास्थ सेवाको लागि अत्यावश्यक सामग्री निर्माण तथा वितरणमा तल्लीन रहेको आविष्कार केन्द्रले अनुसन्धान सँगसँगै विभिन्न विपत्तिमा जनताको सहाराको रूपमा परिचय बनाइसकेको छ र यसले पक्कै पनि निरन्तरता पाइ नै रहनेछ । 

महावीर पुनको अभियानले सफलता पायो भने स्वार्थी राजनीतिक दलका नेतालाई भन्दा देश र जनताको को समृद्धिका लागि दिनरात खटिने अभियन्तालाई अझ धेरै उचाइको सम्मान दिन नेपाली जनताले छुच्च्याइँ गर्ने छैनन् । दलीय फाइदा नलिएका र फाइदा लिएका समेत धेरै सचेत नागरिकले अब देशका लागि योगदान गर्ने मान्छेको निस्पक्ष मूल्याङ्कन गर्न थालिसकेका छन् ।

अहिलेका सचेत नागरिकले, विभिन्न तन्त्रको खोल ओढेर मौखिक आस्वासन दिँदै दयनीय जिन्दगी बिताइरहेका धेरै जनताको अगाडि सम्भ्रान्त जीवनयापन गरी हिँड्नेहरूलाई राम्ररी चिनिसकेका छन् । त्यसैले  आगामी दिनमा आफूलाई सर्वज्ञानी तथा सर्वश्रेष्ठ ठान्ने र बोलीले मात्र देश बदल्नेहरूलाई कुनै महत्त्व नदिई आफ्नो निजी सुख पूरै त्यागी देशको विकासका लागि अहोरात्र खटिने साच्चिकैका देशप्रेमीहरूको सालिक बनाइनेछन् ।

त्यसैले सादा जीवन उच्च विचार भएका थोरै जीवित नेपाली नागरिकमध्ये एक महावीर पुनलाई देशको विकासको जग बसाउने अभियानमा कुनै अवरोध नआओस् ।  अभियानले सफलता पाओस् । हामी र हाम्रा सन्तानले नेपालमै आविष्कार गरिएका विभिन्न वस्तु उपभोग गर्न पाइयोस् । 

हामी देशलाई समृद्ध बनाउने मान्छे हौँ भन्ने अधिकांश अभियन्ता नक्कली रहेछन । कुलमान, महावीर लगायत अन्य केही मान्छे मात्र समृद्धिका सक्कली अभियन्ता हुन् ।  वर्तमान समयमा राज्यले नचिनेको अथवा चिनेर पनि बेवास्ता गरिएका महावीर पुन र त्यस्तै अन्य समृद्धिका सक्कली अभियन्ताहरूलाई अबको पुस्ताले पक्कै मूल्याङ्कन गर्नेछ ।

विचार राेतापाटी डटकमबाट साभार गरिएकाे हाे ।