cheap nhl jerseys
पित्तलको छानो गलेश्वर मन्दिरमा « Koralapost
पित्तलको छानो गलेश्वर मन्दिरमा
Koralapost आश्विन ४, २०७८ सोमबार


म्याग्दी ४ असोज । प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा पित्तलको छाना राखिएको छ । बेनी नगरपालिका-९ स्थित गलेश्वर शिवालय मन्दिरमा गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो ।

गत साउन अन्तिम सातादेखि सुरु भएको गलेश्वर मन्दिरको छानामा पित्तल राख्ने काम सकिएको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए । मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले रु ५ लाख ५५ हजार ५ सय ५५ आर्थिक सहयोग गरेका छन् । उनका बुबा राधाकृष्ण पराजुलीले विसं २०५५ मा रु २० लाख खर्चेर मन्दिर निर्माण गरेका थिए । कुल रु ३१ लाख ५० हजार लागत अनुमान गरिएको पित्तलको छाना राख्ने योजनाका लागि कोषको आन्तरिक स्रोतबाट रु २७ लाखभन्दा बढी छुट्याएको छ। यसअघि सिमेन्टको छानो वर्षेनी रङरोगन कोषले गर्दै आएको थियो ।

पित्तलले छाएपछि आकर्षक देखिएको छ । छानो फेर्न कोषका कोषाध्यक्ष बमबहादुर पुनको अध्यक्षतामा उपभोक्ता समिति बनाएर काम गरिएको थियो। मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वर यहाँको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ ।

हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाक्षा पूरा हुने विश्वास रहेको छ । मन्दिरमा भक्तजनले चढाउने भेटीबाट पूर्वाधार निर्माण, पूजा व्यवस्थापन, संस्कृत विद्यालय, वृद्धाश्रम र तीर्थयात्री निवास सञ्चालन भइरहेको छ।