cheap nhl jerseys
ब्यावसायिक भेडापालनमा आकर्षण « Koralapost
ब्यावसायिक भेडापालनमा आकर्षण
Koralapost आश्विन ४, २०७८ सोमबार


म्याग्दी, ४ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका- ८ पात्लेखर्कका मिलन छन्त्यालले पुर्खाको भेडापालनलाई ब्यावसायिक बनाएका छन् । विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर भेडीगोठमा व्यस्त बनेका छन् । गाउँ शहरमा कोरोनाको कहरले युवाहरु बेरोजगार बनिरहेको विच छन्त्याल भने ब्यावसायिक भेडापालनले कोरोना र लगडाउनको कुनै प्रवाह विना जंगलमा भेडा गोठालोको जीवन विताईराखेका छन् । भेडापालन फार्म नै दर्ता गरी व्यावसायिक भेडापालन सुरु गरेका छन्त्यालको फार्ममा अहिले २५० बढी भेडाबाख्रा छन् । घरमा ब्वाआमाले निर्वाहमुखी भेडाबाख्रापालनमा विदेशमा कमाएको पैसा लगानी गरेर भेडापालनलाई ब्यावसायिक बनाएको बताए ।

पाँच वर्षदेखि वनजङ्गलमा घुम्ती गोठबाट भेडापालन गरेका छन् । उत्पादन भएका भेडाबाख्राका लागि बजारको अभाव नभएको बताउदै भेडा, खसी, साँढे, बोका खरिदका लागि ग्राहक गोठमा नै आउने गरेको बताए । पात्लेखर्ककै दानबहादुर गर्वुजाले पनि प्रवासमा आर्जन गरेको कमाईलाई गाउँमै भेडापालनमा लगानी छ । रोजगारको सिलसिलामा आठ वर्षसम्म इराक बसेर फर्कनुभएका गर्बुजाले रु १३ लाखको लगानीबाट भेडापालन व्यवसाय सुरु गरेका छन् । भेडापालन थालेको पाँच वर्षमा उहाँको गोठमा भेडाबाख्रा २५० नाघेको छ । हरेक वर्ष आठदेखि १० लाखसम्मका भेडा गोठबाट बिक्री हुन्छन् ।

यहाँका भेडीगोठ छिसखर्क हुँदै चौरवन, च्यामली, रिखार हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म लैजाने गरिन्छ । खाद्यान्न सामग्री लिनका लागि गाउँ झर्नेबाहेक अन्य चाडपर्वदेखि वर्षात् र हिउँ पर्ने समयमा गोठको जीवन अति कष्टकर हुने भएकाले घुम्ती गोठ रहने क्षेत्रमा आश्रयस्थल बनाइदिए आफूहरुलाई सहज हुने भेडापालक किसान मिलन छन्त्यालको भनाइ छ । पछिल्लो समय मान्द्रो बुन्ने पेसा र सीप हराउँदै जान थालेकाले कतिपय गोठमा शहरबाट त्रिपाल खरिद गरी प्रयोग गर्ने गरिएको छ ।

मिलन छन्त्यालका अनुसार औषधीको अभावमा हरेक वर्ष गोठमा जन्मिएका भेडाबाख्रामध्ये आधाको हाराहारीमा विभिन्न रोग लागेर मर्ने गरेको बताए । अनकन्टार जङ्गलबाट औषधिको खोजी कहाँ गर्नु, यता गोठ छाडेर शहर पुगेर औषधि ल्याउन सक्ने अवस्था नै हुँदैन, गोठमा सरकारी निकायबाट अहिलेसम्म कोही आएका छैनन्, रोग लागेमा स्थानीय जडीबुटी खुवाउने हो, कहिले त निको हुन्छ, कहिले हुदैन भन्दै यस्तै समस्याले भेडापालनलाई सताउने गरेको जानकारी दिए ।

जङ्गलका गोठको सुरक्षामा कुकुरको सहारा लिने गरिन्छ । गोठाला र कुकुरको निगरानीका बिचमा पनि बाघ, भालुले चरणक्षेत्र र गोठमै आएर भेडाबाख्रा खाने गर्छ । कृषकसामु पशु बीमाको पहुँच नपुगेको कारण जङ्गली जनावरको आक्रमण, रोगको सङ्क्रमण, बाढी, पहिरो र चट्याङ लागेर भेडाबाख्रा मर्दा भेडापालक किसानले ठूलो आर्थिक क्षति भोग्न बाध्य छन् ।