भिसि तुलबहादुर पुन जन्मीएको घर
Koralapost श्रावण १, २०७८ शुक्रबार



म्याग्दी, १ साउन । बेलायतमा भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको जन्मघर म्याग्दीको रघुगंगा गाउँपालिका–१ बादुक हो । दोस्रो विश्वयुद्धमा गरेको योगदानलाई उच्च मुल्याकंन गर्दै भिसि तुलबहादुरको सम्झनामा बेलायतमा जुन २३ बाट रेल सेवा सुरु भएको छ । बेलायतको एक रेल सेवाले त्यहाँको सर्वोच्च युद्व पदक भिक्टोरिया क्रस बिजेता स्व. तुलबहादुर पुनको सम्मान गर्दै रेल सेवा सुरु गरेको छ । बेलायतमा चर्चाको शिखरमा रहेका भिसी जन्मथलो म्याग्दीमा भने सुनसान रहेको छ ।

पुनले भिसी पाएको ७६ वर्ष पुगेको छ । भिसी पुन दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाउँदा २१ वर्षका मात्र थिए । उनले दोस्रो विश्वयुद्धमा बहादुरी र साहस प्रदर्शन गरेवापत सो पदक पाएका थिए । दोस्रो विश्वयुद्धमा अद्वितीय पराक्रम प्रदर्शन गरेवापत बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका गोरखा सैनिक तुलबहादुर पुनको नाममा २०२१ जुन २३ बाट बेलायतमा रेल सेवा सन्चालन भएको छ । भिसी पुनले भिक्टोरिया क्रस पाएको दिन र ७६ बर्ष पुगेको अवसरमा बेलायतको पश्चिमी क्षेत्रमा भिसि पुनको नाममा रेलवे सेवा सन्चालन गर्ने ग्रेट वेस्टर्न रेलवेलाई भिसिका परिवारले धन्यवाद दिएका छन् ।

गोरखा सैनिक तुलबहादुर तिलिजा पुन जन्मिए र हुर्किएको घर रघुगंगा गाउँपालिका १ बादुकमा अझै सुरक्षित रहेको छ । घरलाई संरक्षण गरेर पर्यटकिय गन्तव्य बनाउन उनका छोराबुहारी अर्जुन र शान्ती तिलिजा लागि परेका छन् । बेलायतको उच्च सम्मान पाएका भिसी तुलबहादुरको नाममा बेगखोलामा सडक र पुन भिसी स्मृति रहेको छ। बेगखोलाको बादुरक गाउँमा सन् १९२३ मार्चमा जन्मिएका तुलतबादुर २० वर्षको उमेरमा भर्ती भएका थिए। उनको सन् २०११ अप्रिल २० मा ८८ वर्षको उमेरमा निधन भएको थियो।

स्वर्गिय पुनको श्रीमती, बुहारी नातिनी गाउँमा बसेर बुवाले बनाएको सम्पतीको संरक्षण तथा फलफूल लगाउने काम गरिरहेका छन् । स्वर्गिय पुन जन्मिएको तीन तले घरलाई उनले प्रयोग गरेका सामानहरु, पाएका सम्मानहरुलाई संरक्षण गरेर संग्रालयको रुपमा घरलाई बनाउने तयारी भएको छोरा अर्जुन तिलिजाले बताउनुभयो । जन्मिएको घरमा पुरानै सामानहरु समेटेर संग्रालय बनाएर संरक्षण जिम्मा गाउँलाई दिने योजना रहेको बुहारी शान्ती तिलिजाले बताउनुभयो ।

स्वर्गिय भिसी पुनको अवकासपछि बादुक गाउँ फर्किर खानेपानी, खेलमैदान, विद्यालय भवनलगायत दर्जनौं योजनामा समेत काम गरेका थिए। गाउँमा कृष्ण आधारभूत विद्यालय र तिपल्याङमा कालिका आधारभूत विद्यालयको स्थापना भिसि पुनले गरेको स्थानीयबासी पुर्णबहादुर गर्वुजाले बताउनुभयो । बादुक बासीले तुलबहादुरको नाममा तिपल्याङदेखि बादुकसम्मको सडकलाई पुन भिसि सडकको रुपमा नामाकरण गरेको छ भने तिपल्याङ– बादुक भिसी पदमार्ग बनाउने योजनामा बादुकबासी लागेका छन् ।

मगर कलासस्कृति, बेगसंग जोडिएको दोस्रो अग्लो र लामो पुल भएको यस बादुक गाउँमा स्वर्गिय पुन नाममा संग्रालय निर्माणले पर्यटकको गन्तव्यको विकास गरेर स्थानीयलाई लाभान्वित बनाउने योजना रहेको वडाअध्यक्ष विलबहादुर फगामीले बताउनुभयो । बेलायतमा गोरखा सैनिकहरुले हालसम्म १३ वटा भिक्टोरिया क्रस पाएका छन् ।धिरन खत्री