मोनाद्धारा निर्मित ४० घर बाढीपहिरोबाट प्रभावितलाई हस्तान्तरण
Koralapost असार २३, २०७८ बुधबार

म्याग्दी २३ असार । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले जिल्लामा बाढीपहिरोले विस्थापित ४० परिवारलाई नयाँ घर बनाएको छ । गत बर्ष असार २५ गते बर्खाको बाढीपहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चावी हस्तान्तरण गरिएको हो ।

जिल्ला विपद् ब्यवस्थापन समिति, स्थानीय तहहरुसँग समन्वय गरी जग्गाविहिनलाई एकीकृत बस्ती र जग्गा भएका पीडितलाई मापदण्ड अनुसारका प्रतिघर पाँच/पाँच लाख रुपैयाँ गरी कुल २ करोडको लागतमा घर निर्माण गरि हस्तान्तरण गरिएको मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले बताए ।

रघुगंगा गाउँपालिकामा निर्माण भएका ४ वटा घरहरु सम्बन्धीत लाभग्राहिलाई हस्तान्तरण गरिसकिएको छ । करिब ६ महिनाको अवधिमा मोनाले धवलागिरी गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूणर् गाउँपालिका र बेनी नगरपालिकामा चार चार वटा पहिरो पिडितको घर निर्माण गरि हस्तान्तरण गरिएको घर पुननिर्माण समितिका सदस्य दल शेरपुजाले जानकारी दिए । उनका अनुसार, जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस र स्थानीय तहसंगको समन्तवयमा बाढी, पहिरो पीडित लाभग्राहीको छनौट गरिएको हो ।

गतबर्षको माघ महिनामा रघुगंगा गापा-५, झिँबाट सुरू भएको पुर्नवास अभियानले पीडितको घाउमा मलम लगाउने प्रयास गरिएको मोनाले जनाएको छ । मोनाका अध्यक्ष जुग्जालीले प्राकृतिक विपत्तिको समयमा पीडितहरुलाई राहत र सरकारलाई समेत सहजता होस भन्ने उदेश्यले प्रवासी म्याग्देलीहरुले पुननिर्माण अभियानमा सहकार्य गरिएको बताए ।

रोजगार तथा ब्यवसायको शिलशिलमा विभिन्न देशमा रहेका (मोना) म्याग्देलीहरुको एकतामा आर्थिक संकलन गरेर बाढी पहिरो प्रभावितलाई घर निर्माण गरिएको थियो ।