जलजलाको बजेट सार्वजनिक
Koralapost असार ११, २०७८ शुक्रबार

पर्वत, ११ असार । जलजला गाउँपालिकाको १०औं गाउँसभा बुधबार सम्पन्न भएको छ । सभाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । जलजलाको आगामी आर्थिक वर्षको बजेट ४५ करोड, १५ लाख ५० हजार रुपैयाँ रहेको छ ।

उक्त बजेट, नीति तथा कार्यक्रम गाउँसभाले पारित गरेको हो । बजेटमध्ये चालूतर्फ आठ करोड र पुँजीगततर्फ १५ करोड २३ लाख ५० हजार रुपैयाँ र संघीय सरकारबाट प्राप्त सशर्त अनुदान २१ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

गाउँसभामा अध्यक्ष यामबहादुर मल्लले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष सीमा गर्बुजा पुनले बजेट प्रस्तुत गरेकी थिइन् ।