होटल ब्यवसाय धरासायी बन्दै
Koralapost जेष्ठ २४, २०७८ सोमबार

म्याग्दी, २४ जेठ । दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि म्याग्दीको होटल व्यवसाय धरासायी बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गरेर सञ्चालन गरिएका म्याग्दीका लगभग चार सय होटल तथा रेष्टुरेण्ट ब्यवसाय धरासायी अवस्थामा पुगेका छन् ।

कोरोनाका कारण होटल व्यवसाय धरासायी बन्दै जादाँ पलायन बाध्य बनाएको होटल ब्यवसायी एवम म्याग्दी होटल ब्यवसायी संघ अध्यक्ष ताराप्रसाद आचार्यले (बावुराम) बताए । ५ लाख देखि ३ करोड रुपैयाँसम्म लगानी गरेर संचालन भएका सदरमुकाम बेनी, सिंगा तातोपानी, भुरुङतातोपानी, घोडेपानी, खोप्रा, दरवाङ, गलेश्वर लगायतका क्षेत्रका होटल ब्यवसायीहरु बैंकको किस्ता समेत तिर्न नसक्ने अवस्थामा पुगेको होटल ब्यवसायी बताउछन् । “जिल्लामा अरबौ रुपैयाँ लगानी होटल क्षेत्रमा छ, भने हजारौँ संख्यामा दिएको रोजगारी समेत गुमेको छ-” उनले भने ।

पछिल्लो समय बढ्दो संक्रमणले आन्तरिक रुपमा आउने पर्यटकपनि नहुदाँ होटल ब्यवसाय छोडेर अन्य ब्यवसायमा लाग्ने संख्या बढ्दै गएको ब्यवसायी आचार्यले बताए । हिमाल पारीको जिल्ला मुस्ताङमा पर्यटक आगमन बन्द भएपछि होटलहरु लगभग १५ महिनादेखि बन्द जस्तै भएका छन् । ब्यापार नुहदाँ घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलव ब्यवस्थापनमा होटल ब्यवसायी समस्यामा छन् ।

पर्यटकीय स्थल सुनसान भएपछि चिज उद्योग बन्द छ । अन्नपूणर् गाउपालिकाको राम्चे, घार र पाउद्धारमा तीन वटा चिज उद्योग बन्द भएका हुन् । बजारमा खपत हुन छाडेपछि चिज उत्पादन बन्द गरिएको घारको हिमालयन चिज उत्पादन कृषि सहकारी संस्थाले जानकारी दिएको छ ।

होटल तथा रेष्टुरेण्ट बन्द हुदाँ तरकारी, दुध, कुखुरापालक कृषकहरुको ब्यवसाय पनि डुवेको छ । उत्पादन भएको बस्तुहरु होटल तथा रेष्टुरेण्टमा विक्रि हुदाँ मनग्य आँम्दानी हुने कृषि उपजहरु आधा मूल्यमा पनि विक्रि हुन छोड्दा कृषि तथा पशुपालन ब्यवसाय नाफामूलक बन्न सकेको छैन् । होटल ब्यवसायसंगसंगै यातायात ब्यवसायपनि ठप्प बनेको छ ।