हाईड्रो, पर्यटन, कृषिलाई प्राथमिकता
Koralapost जेष्ठ २३, २०७८ आईतबार


प्रदेश–गण्डकी
जिल्ला–म्याग्दी
स्थानीय तह– रघुगंगा गाउँपालिका
केन्द्र : मौवाफाँट
पुर्व– कालीगण्डकी नदी, पर्वतको जलजला गाउँपालिका
पश्चिम– धवलागिरी गाउपालिका
उत्तर– अन्नपुर्ण गाउँपालिका
दक्षिण– बेनी नगरपालिका मंगला गाउँपालिका
क्षेत्रफल : ३८० वर्ग कि.मि.
कुल घरधुरी संख्या : ४०९८
वडा : ८ वटा
जनसंख्या : १५७५३
अध्यक्ष : भवबहादुर भण्डारी
उपाध्यक्ष : कमला तिलिजा
प्रमुख प्रशासकिय अधिकृत : अमृत सुवेदी

म्याग्दीमा रहेका ६ वटा स्थानीय तह र पर्वत र मुस्ताङ जिल्लासंग सिमाना जोडिएको रघुगंगा गाउँपालिका हो । रघुगंगा नदीबाट नामाकरण भएको यस गाउँपालिकामा मगर, बाहुन, क्षेत्री, ठकुरी, दलितसंगै अल्पसंख्यक छन्त्याल , थकाली र गुरुङ समुदायको बसोबास छ । यस गाउँपालिकाको विकासको आधार हाईड्रो पर्यटन, कृषि र पशुपालनबाट रोजगारको सम्भावना भएको अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम हूदै दरमिजा, चिमखोला, कुईनेमंगलेसम्म सडक संजाल पु¥याउन यस बर्ष सफल भएको छ। गाउँपालिकाले नदी र खोलाको कारण एक गाउँबाट अर्को गाउँमा सहज गराउन २३वटा भोलुङ्ग पुलमध्ये १४ वटा भोलुङ्गे पुल प्रदेश र संघको सहकार्यमा निर्माण गर्न सफल भएको छ। अर्कोतर्फ मौवाफाँटदेखि झिँ र पाखापानीतर्फका लागिरिकको लागि सडक सञ्जाल विस्तार गरि झिँको पुछार र बुग्ल स्थित राहुघाट नदीमा मोटरेवल पुल निर्माण गरेको छौ। कृषि, पशुपालन, पर्यटन लगायतका सम्भावनालाई पहिचान गरेर पूर्वाधार निर्माण चरणबद्ध गरेका छौ, अध्यक्ष भण्डारीले चुनावको समयमा जनतासंग गरेको बाचाँ अनुसार सडक, पुल, हाईड्रो, र हरेक गाउँमा स्वास्थ्य सेवा पु¥याउन सफल भएको बताए ।

गाउँपालिकाको प्रशासकिय भवन निर्माणको लागि जग्गा ब्यवस्थापन भएको छ । भने वडा र विषयगत कार्यालयको पूर्वाधार निर्माण, विद्यूत र सञ्चारको पहुँच विस्तार, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, प्रत्येक घरमा खानेपानीको सुबिधा विस्तारका लागि रघुगंगाले संघिय र प्रदेश सरकारसंग समन्वय गरेर विकासका योजनाहरु काम गरिरहेको अध्यक्ष भण्डारीले जानकारी दिए ।हरेक बस्ती कच्ची सडक जोडिएको कारण आगामी आर्थिक बर्षमा कृषि, शिक्षा र स्वास्थ्यमा प्राथमिकता दिएर बजेट विनियोजन गर्ने योजना तयारी गरिरहेको अध्यक्ष भण्डारीले भने ।

चिमखोला र कुईनेमंगलेको माथिल्लो भेगमा यार्सागुम्बा, निरमसी, जटामसी, चिराईतो, सतुवा लगायतका बहुमुल्य जडिबुटीहरु प्रशस्त मात्रामा पाईने भएकाले यसलाई व्यवसायिक र व्यवस्थित बनाउनेतर्फ गाउँपालिका लागेको छ। “गाउँपालिकालाई समृद्ध बनाउन भौतिक पूर्वाधार निर्माणसंगै यहाँको जलस्रोत, पर्यटन, जडिबुटी, कृषि, पशुपालन लगायतको सम्भावनालाई उजागर गर्ने गरि योजनाबद्ध तवरले अगाडी बढेका छौँ, आगामी योजना तय गर्दा हाम्रो ध्यान यसैमा केन्द्रित छ’’–गाउँपालिका अध्यक्ष भण्डारीले भने ।

स्थानीय तहमा निर्वाचित भएपछि धौलागिरि हिमालको फेदीमा मुहान रहेको रघुगंगा नदी र यसमा मिसिने अन्य खोलाहरुबाट करिब १५० मेगावाट क्षमतासहित ५ वटा जलविद्युत आयोजनाहरुले विद्युत उत्पादनको लागि वातावरण निर्माण भएर काम भईरहेको बताए । चिमखोलाको बगरखोलामा ५.५ मेगावाट, ४० मेगावाट क्षमताको राहुघाट, २१.३ मेगावाट क्षमताको ठूलोखोला, ३५. ५ मेगाघाट क्षमताको राहुघाट मंगले, ४८ मेगावाटको अपर राहुघाट जलविद्यूतको समेत ठेक्का लगाएर निर्माण कार्य प्रारम्भ गर्ने तयारी गरिएको छ । कुइनेमंगलेमा संयुक्त ऊर्जा प्रा.लि.ले निर्माण गर्न लागेकोे २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनार चिमखोलामा तुँदी पावर कम्पनीले ३५.५ मेगाघाट क्षमताको राहुघाट मंगले जलविद्युत आयोजनाको पूर्वाधार निर्माण सुरु गरेको छ ।

गाउँपालिकामा विकास निर्माण प्रशासन क्षेत्रमा दरवन्दी अनुसार कर्मचारी नभएपनि करार कर्मचारीबाट जनताको सेवालाई प्रभावकारी बनाईएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले बताए । हालसम्म ५१ प्रतिशत बजेट यो आर्थिक बर्षमा कार्यान्वयन भएको छ। कोरोनाले आगामी आर्थिक बर्षको योजना छनोट तथा जनतासंग अन्तरक्रिया गर्न नसकेको बताए । राजश्व परामर्श समितिको बैठकले राजश्व अनुमान र स्रोत अनुमान गरेर आगामी आर्थिक बर्षको बजेट कार्यान्वयनको लागि तयारी भईरहेको बताए । गाउँपालिकामा असल अभ्यासको रुपमा उपभोक्ता समितिबाट विकास निर्माणको काम र निजि क्षेत्रको सहकार्य, गाउँपालिकाको प्रशासन भवन समुदायबाट निशुल्क जग्गा उपलब्ध भएको अधिकृत सुवेदी जानकारी दिए।

दोस्रो लहरको कोरोना भाईरस गाउँ गाउँमा फैलिएपछि गाउँपालिकाले डाक्टर, एम्वुलेन्स सेवा उपलब्ध गराएर गाउँमा २० बेडको कोभिड अस्पताल संचालन गरिरहेको अध्यक्ष भण्डारीले जानकारी दिए । “गाउँपालिका र समुदायको आर्थिक तथा सामाग्री सहयोगमा कोभिड अस्पतालमा कोभिडको विरामी उपचार गरिरहेका छौ,”– उनले भने ।

गाउँपालिकाको वडा नम्बर १ बादुकमा विश्वयुद्धमा शाहसिक पदक भिक्टोरिया क्रस पदकबाट विभुषित स्वर्गीय भिसी तुलबहादुर पुनको जन्मथलो रहेको छ । थालीनाचको उद्गम स्थल मानिने रघुगंगामा सेदो गित, पुख्यौली, मादले, मारुनी, सोरठी, यानीमाया, शिरफुल, भजन कृर्तन, दग्नामको लिङ्गो जुधाई र भुमे पुजा, चिमखोलाको टोपा नाच मौलीक लोक संस्कृती भरिपुर्ण छ।