चुस्त सेवा प्रवाहमा बेनी
Koralapost मंसिर १६, २०७७ मंगलबार



म्याग्दी, १६ मंसिर । पश्चिम नेपालको म्याग्दी सदरमुकाम समेत रहेको बेनी नगरपालिका आफैंमा चर्चित स्थान पनि हो । गीत संगीतका माध्यमले आम नेपालीले यसअघि नै मनमा राखिसकेको बेनीमा स्थानीय तह पुनर्संरचनासँगै निर्वाचित जनप्रतिनिधिले विकास निर्माणसँगै सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाहलाई प्राथमिकतामा राखेकाछन् । नगरपालिकाको भूगोलअनुसार योजनाबद्ध शैलीमा बस्तीस्तरमा जनप्रतिनिधि र कर्मचारी मिलेर संघीयताको मर्म र स्थानीय तहको औचित्यलाई ध्यानमा राखी कार्य सम्पादन गरिरहेका छन् । सरोकारवालाहरूको सहभागितामा अधिकतम विकास निर्माणका कार्यहरू तथा प्रभावकारी सेवा प्रवाहलाई छितो र छरितो गर्दै जनताको नजिक सरकार रहेको पुष्टि गराउने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी बताउँछन् ।


‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई प्रभावकारी कार्यान्वयन गर्न बस्तीस्तरबाट योजना तर्जुमालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रमअनुसार विकास बजेट विनियोजन गरेको उनी बताउँछन् । यद्यपि, विभिन्न प्रशासनिक कमजोरी र प्रष्ट ऐन कानुनको अभावमा अधिकार बाझिँदा दिगो योजना कार्यान्वयन प्रभावकारी रूपमा जनताले अनुभव गर्न सकेको अवस्था नरहेको उनको भनाइ छ ।
आन्तरिक आम्दानीका स्रोतहरू खोजीको अभाव र संघीय तथा प्रदेश सरकारको बजेटमा भर पर्दा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार जनताको चाहनाअनुसार योजना तर्जुमा भए पनि जनताको सबै आवश्यकता पूरा हुन सकेको अवस्था भने छैन । नगरपालिकाको केन्द्रदेखि वडा कार्यालयसम्म व्यवस्थित सडक, रोजगारी व्यवस्था, पर्यटन पूर्वाधार, कृषि पशुपालनको प्रभावकारी कार्यान्वयन, पहिचान भएको स्रोतलाई अधिकतम प्रयोगमा ल्याउन नसकेको अवस्था छ । यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निरन्तर यस क्षेत्रमा काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउँछन् ।


नगरपालिकाले दिगो विकासका लक्षहरू प्रभावकारी बनाउन आन्तरिक आम्दानीको अभावमा संघ र प्रदेशको भरमा स्थानीय तह निर्भर रहेको छ । भूगोलअनुसार जनताको चाहनालाई योजनाबद्ध विकासमा समेटिएको तर दिगो आन्तरिक आम्दानी नहँुदा बजेट अपुगले ढिलासुस्ती भएको छ । आर्थिक स्रोतहरूमा करको वृद्धि भन्दा पनि दायरा बढाउने, सेवाप्रवाहमा सबैबाट शुल्क लिने, आम्दानी स्रोत खोजी र स्रोत पहिचान भएका वकिल र अडिटर लगायतलाई करको दायरामा ल्याउने प्रक्रियामा ल्याउनुपर्ने अवस्था देखिएको छ ।


२०७६÷७७ मा भौतिक रूपमा सडकतर्फ ढलान १.०७ किमी, ग्राभेल ३.५९ किमि, नयाँ ट्रयाक ८.२५ किमी, ढल निर्माण ३.४ किमी, नयाँ विद्यालय भवन निर्माण ८ वटा र सामुदायिक भवन निर्माण २१ वटा गरेको छ । निरन्तर प्रयासमा बेनी नगर क्षेत्रभित्र खरको छानो भएको घरहरू पहिचान गरेर विस्थापित गर्दै रंगित जस्ताका पाता ११० घरमा राखिएको छ । यस कार्यक्रममा ४१ लाख रूपैयाँ बजेट रहेको थियो । सो कार्यक्रमलाई यस वर्ष निरन्तरता दिइएको छ ।


नगरपालिकाको ८० वर्षमाथिका सबैलाई निशुल्क स्वास्थ्य सेवा, महिला स्वयमसेवीको स्वास्थ्य बिमा गरिएको छ । विश्वभर फैलिएको कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथाममा जनचेतना जगाउने, क्वारेन्टाइन, आइसोलेसन र कोरना संक्रमित व्यक्तिलाई व्यवस्थापनमा ध्यान दिएर काम गरिरहेको मेयर हरिकुमार श्रेष्ठ बताउँछन् । यस वर्ष कोरना रोकथाम र व्यवस्थापनमा १ करोड ५० लाख बजेट विनियोजन गरिएको अधिकृत सुवेदीले जानकारी गराए । विकास निर्माणको प्रभावकारी अनुगमन, आईसीटीको प्रयोग र राम्रो काम गर्ने कर्मचारी सम्मान कार्यक्रमलाई सफल रूपमा सम्पन्न गरिएको मेयर श्रेष्ठको भनाइ छ । त्यस्तै पर्यटन पूर्वाधार निर्माण प्राथमिकता दिएर १ करोड ५० लाख विनियोजन भएको छ भने सेवाप्रवाहका लागि नगरपालिकाको थप भवन र वडाकार्यालय भवन निर्माणमा ध्यान दिइएको बताएका छन् ।


बस्तीकोे योजनाबद्ध विकासमा मेयर, उपमेयर, प्रशासकिय अधिकृत र वडाअध्यक्ष लगायतले योजना तर्जुमा गर्दा अनुगमन गनुपर्छ । आर्थिक स्रोत ब्यवस्थापनमा कृषि, पशुपालन, पर्यटक ब्यवसाय, जडिबुटी लगायतका उत्पादनमुलक क्षेत्रमा युवाहरूलाई आकर्षण बढाउने र रोजगारी सिर्जना गर्ने योजना प्राथमिकता रहेका छ । नीति तथा कार्यक्रमलाई कार्यान्वयन गराउने पक्षमा कर्मचारीबाट ढिलासुस्ती हुन नदिने प्रतिवद्धता अधिकृत सुवेदीको छ ।