cheap nhl jerseys
आवाजविहीनका लागि मिडिया « Koralapost
आवाजविहीनका लागि मिडिया
Koralapost माघ ३०, २०७७ शुक्रबार

वस्तुतः मिडियाको शाब्दिक अर्थ माध्यम हो । कुनै पनि माध्यमको सहायताबाट सूचना प्रवाह गर्ने, मनोरञ्जन दिने, शिक्षा दिने, अभिपे्ररणा गर्ने, मध्यस्थताको काम गर्ने, सामाजिकीकरण गर्ने वा समाज परिवर्तनको काम मिडियाले गर्छ । यसको व्यापक र साङ्गठनिक रूपमा सन्देश प्रदान गर्ने काम पनि गर्छ ।
साधारणतया मिडिया भन्नाले रेडियो, टेलिभिजन, पुस्तक–पुस्तिका, पत्रपत्रिका, इन्टरनेट, होर्डिङ बोर्ड, सिडी, डिभिडी आदिको समग्र रूपलाई इङ्गित गर्छ । यसले जनमानसलाई सुसूचित गर्ने तथा सत्य, तथ्य र प्रत्यक्ष समाचार सम्प्रेषण गरी जागरूक बनाउँछ ।
मिडिया आफैंमा सूचनाको एक परिवर्तित स्रोत हुनाले विश्वमा यसलाई मानव समुदायको परिवर्तनको संवाहकका रूपमा लिन सकिन्छ । यसले सधैं नै निष्पक्ष सत्यताको विशुद्ध मनोभावनाले मानव समाजलाई निरन्तर सफलता दिलाउँछ ।
मिडियाले हरेक पाइलामा खबरदारी गरिरहने र जनतालाई सचेत तथा सुसूचित गर्ने काम गर्छ । यसले गर्न सक्ने निगरानीको सकारात्मक भूमिकालाई मनन गरेर विद्वान्हरूले यसलाई समाजको पहरेदार र राज्यको चौथो अङ्ग मानेका छन् ।
समाज र राष्ट्रको चरित्र र स्वरूप जस्तो छ त्यस्तै प्रतिरूप मिडियामा प्रतिबिम्बित हुने भएकाले यो समाज र राष्ट्रको दर्पण हो । यसले समानता, सुशासन, न्याय र समाजलाई सकारात्मक मार्गतर्फ लैजान्छ र पथप्रदर्शकको रूपमा काम गर्छ । योबाहेक यसले सत्य, तथ्य र यथार्थताको प्रतिनिधित्वमात्र नगरेर विगतदेखि वर्तमानसम्मको समाजको यथार्थ वस्तुस्थितिको व्याख्या एवं विश्लेषण पनि गर्छ ।
साधारणतः मिडियाको प्रमुख काम भनेको समाजमा विद्यमान विभिन्न किसिमका घटनाहरू, समाजको प्रगति, विज्ञान र प्रविधिले ल्याएको विकास, प्राकृतिक प्रकोपले पारेको असर, धर्म, परम्परा, रीतिरिवाज, चालचलन, चोरी, डकैती, बलात्कार, अन्याय, अत्याचार, समसामयिक राजनीतिक विषयवस्तुहरू आदिका बारेमा सत्य, तथ्य र वस्तुनिष्ठ भएर तिनीहरूको खोज गर्दै समाचारको माध्यमबाट सूचना प्रवाह गर्नु हो ।
वस्तुतः मिडियाले प्रदान गर्ने सूचना, शिक्षा र मनोरञ्जनले प्रस्तुत विषयको सन्दर्भमा आममानवको विचार निर्माण हुन्छ, जुन कहिले सकारात्मक हुन्छ भने कहिले नकारात्मक । यसले प्रवाह गरेको विषयवस्तुले आममानव र सामाजिक जीवन वा चरित्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रभाव परिरहेको हुन्छ ।
मिडियाले समाजलाई सही, तथ्यपरक र विश्वसनीय सूचना प्रवाह गर्दै शिक्षा दिनु वा चेतनाको विकास गर्नुदेखि सधैँ राष्ट्र वा समाजको परिवारका रूपमा काम गर्छ । यसले राज्यको महŒवपूर्ण निकायहरूमध्ये न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई बिनाबर्दीको सेना तथा प्रहरीका रूपमा काम गर्छ ।
यसले समाजका समस्या उजागर गर्ने मात्र होइन, न्यायका लागि प्रशस्त मार्ग निर्माण गर्छ । मानव सामाजिक र चेतनशील प्राणी भएकाले सधैं नयाँ कुरा जान्न र सुन्न उत्सुक हुन्छ । यही उत्सुकता र कौतूहलता मेटाउने काम मिडियाले गर्छ । योबाहेक यसले आमजनमानसको सोचमा प्रभाव पार्ने, पारदर्शिता सिर्जना गर्ने, सचेतना बढाउने तथा सामाजिक कुरीतिसँग लड्न सक्ने क्षमता अभिवृद्धि गर्न सघाउ पु-याउँछ ।
मिडिया समाजको पथप्रदर्शक हुनाले यसले वास्तविकताको प्रतिनिधित्व मात्र गर्दैन, समाजको पुनर्निर्माण पनि गर्छ । यसले निरन्तर रूपमा प्रदान गर्ने सूचना, शिक्षा र मनोरञ्जनले एकातिर आमनागरिकको विचार निर्माण भइरहेको हुन्छ भने अर्कातर्फ कतिपय सन्दर्भमा उनीहरूको सोच तथा धारणाको पुनर्निर्माण भइरहेको हुन्छ ।
कुनै पनि व्यक्ति धनवान् वा विद्वान् बन्न सूचना र ज्ञान चाहिन्छ, जुन काम मिडियाले गर्छ । आज यो प्रमुख शक्तिका रूपमा विकसित हुँदै गएको छ ।
कुनै पनि व्यक्तिको विभिन्न अधिकार प्राप्तिका लागि पनि सूचना र सञ्चारको अधिकार अपरिहार्य छ । यस सन्दर्भमा विश्वसनीय सूचना तथा जानकारी दिने माध्यमका रूपमा रहेको मिडियाको ठूलो महत्व छ । तसर्थ, मिडियाको सबै किसिमका विकासमा महत्वपूर्ण भूमिका छ ।

के.बी. बस्नेत, साभार काराेबार दैनिक ।