cheap nhl jerseys
भुकम्पले प्रभावित १०५ वटा विद्यालयको भवन पुर्ननिर्माण « Koralapost
भुकम्पले प्रभावित १०५ वटा विद्यालयको भवन पुर्ननिर्माण
Koralapost श्रावण २१, २०७८ बिहीबार

      

म्याग्दी, २१ साउन । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दी मार्फत विद्यालयतर्फको भवन, शौचालय र खानेपानी लगायतको पूर्वाधार निर्माणले विद्यालयको संरचनाको स्वरुप फेरिदै गएको छ । विद्यार्थीको अध्ययनका लागि सुरक्षित विद्यालय निर्माणमा म्याग्दीमा तिव्रता पाएको छ ।

भूकम्प प्रतिरोधी क्षमताका भवन लगायतका पुर्वाधार निर्माण अभियान अन्तर्गगत हालसम्म १०५ वटा विद्यालयको भवन पुननिर्माण गरिएको छ । आयोजना कार्यालय (शिक्षा) ईकाइले २०७३ सालदेखि हालसम्म भूकम्पले जिर्ण बनेका र भत्किएका विद्यालयको भवन पुर्ननिर्माण गर्दै पठनपाठनमा जोखिम न्युनिकरण गरेको छ ।

आर्थिक वर्ष २०७३/७४ देखि विद्यालय भवन पुननिर्माण सुरु भए देखि ०७७/०७८ सम्ममा दुइकोठे ३२ वटा, ३ कोठे १२ वटा र ४ कोठे ६१ वटा गरी कुल १०५ वटा विद्यालयको भवन पुर्ननिर्माण भएको ईकाई प्रमुख तुलराज चौलागाईले जानकारी दिनुभयो । कार्यालयका अनुसार हालसम्म शौचालय ५० वटा र खानेपानी तर्फ २७ वटा योजना निर्माण सम्पन्न भएको छ ।

गत आर्थिक बर्ष ०७७/०७८ मा विद्यालय तर्फमा १०७ वटा योजनामध्ये ८३ योजनाको पुर्ननिर्माण सम्पन्न भएको छ भने २४ निर्माणधिन अवस्थामा बाकी रहेको ईकाई प्रमुख चौलागाईले जानकारी दिनुभयो । गत आर्थिक बर्षमा ५० भवनमध्ये ३३ वटा, ३० वटा शौचालयमध्ये २५ सम्पन्न, २७ वटा खानेपानी आयोजनामध्ये २५ सम्पन्न भएको इकाईले जनाएको छ । कार्यालयका अनुसार २ कोठे भवन ८ वटा, ३ कोठे भवन १ वटा, ४ कोठे २४ वटा भवन निर्माण सम्पन्न भएको थियो । त्यस्तै शौचालय १६ वटा, खानेपानी १९ वटा सम्पन्न भएको थियो । १७ वटा भवन, २ खानेपानी र ५ वटा शौचालय निर्माण बाकी रहेको कार्यालयले जानकारी दिएको छ।

विद्यालयको भवन, शौचालय र खानेपानी निर्माण लागि आएको कुल २६ करोड १९ लाख ५१ हजार ९६२ रुपैयाँ बजेट मध्ये २४ करोड ८८ लाख ४३ हजार ८९२ रुपैया बजेट खर्च भएको छ । धवलागिरि गाउँपालिका –३ मा रहेको धनजनता माविका प्रअ पुर्णबहादुर भण्डारीले जिर्ण पुर्वाधार हटाएर चार कोठे दुईवटा भवन निर्माणले विद्यालयको पठनपाठन सहज भएको बताउनुभयो ।

उहाँले पुर्ननिर्माण कार्यालयबाट प्राप्त बजेटलाई विद्यालय ब्यवस्थापन समिति र प्रअको सक्रियतामा भौतिक संरचना सुरक्षित, सुविधायुक्त, वाताबरणमैत्री र अपाङ्गमैत्री बनाईएको जानकारी दिनुभयो । पछिल्लो समय मुक्तिधाम मावि राखु भगवती, गलेश्वर मावि तोरीपानी, हेम मावि शिवाङ लगायतका विद्यालयको जिर्ण संरचना हटाएर नयाँ संरचना निर्माणले विद्यालयको स्वरुप नै फेरिएको छ।