cheap nhl jerseys
म्याग्दीका स्थानीय तहको बजेट सार्वजनिक « Koralapost
म्याग्दीका स्थानीय तहको बजेट सार्वजनिक
Koralapost असार १२, २०७८ शनिबार

म्याग्दी, १२ असार । म्याग्दीमा ६ पालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गरेका छन् । हिमाली जिल्ला म्याग्दीका पालिकाले कृषि, पशुपालन, जलस्रोत, पर्यटन क्षेत्रका पुर्वाधार विकास र शिक्षा स्वास्थ्य र रोजगारमूलक क्षेत्रलाई प्राथमिकता दिएपनि जिल्लाबासीलाई उत्पादनमुलकमा जोडेर आत्मनिर्भर बनाउने योजना राजनीतिक कारण बन्न सकेको छैन् । यसबर्ष पालिकाले चुनाव र पाटी केन्द्रित बजेट बनाउन सफल भएका छन् । जिल्लामा बेनी नगरपालिकासहित रघुगंगा, अन्नपुणर्, धवलागिरी, मालिका र मंगला गाउँपालिकाको एकमुष्ट बजेट ३ अर्व २ करोड ५७ लाख ४९ हजारको बजेट प्रस्तुत गरेको छन् ।

बेनी नगरपालिकाले नवौं नगर सभामा कुल ६६ करोड ५ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरसभामा उपप्रमुख सन्जु बरुवालले सार्वजनिक कुल बजेटमध्ये चालु खर्चतर्फ ४२ करोड ७८ लाख ८२ हजार र पुँजीगततर्फ २३ करोड २६ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रस्तुत बजेटमा सङ्घीय सरकारबाट प्राप्त अनुदानमध्ये समानिकरणतर्फ १२ करोड ८० लाख, राजश्व बाँडफाँड ८ करोड ८लाख ८५ हजार, सशर्त ३१ करोड २९ लाख, विशेष दुई करोड ६१ लाख र समपुरक बजेट एक करोड १५ लाख रुपैयाँ रहेको उपप्रमुख सञ्जु बरुवालले प्रस्तुत गरेकी थिईन ।

यसैगरी प्रदेश सरकारबाट प्राप्त अनुदानमध्ये समानिकरणतर्फ एक करोड ५० लाख ७६ हजार, राजश्व बाँडफाँडमा एक करोड ४९ लाख ६ हजार, विशेषतर्फ ५० लाख, समपुरक २ करोड र अल्या ४ करोड १२ लाख रुपैयाँ बजेट रहेको उपप्रमुख बरुवालले जानकारी गराईन। नगरपालिकाले कर राजश्वअन्तर्गत एक करोड ६२ लाख ५० हजार तथा गैरकर राजश्वअन्तर्गत दुई करोड ४९ लाख ५० हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

नगरसभामा पेश गरिएको बजेटमध्ये पूर्वाधार विकासको क्षेत्रमा कुल तीन करोड ५० लाख, सामाजिक विकास क्षेत्रमा एक करोड ७५ लाख, आर्थिक विकासमा एक करोड ४० लाख, वातावरण तथा विपद् व्यवस्थापनमा ७५ लाख, संस्थागत विकास तथा सुशासनतर्फ ३० लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख बरुवालले बताईन । १० वटा वडा रहेको बेनी नगरपालिकाको १, ४, ६ र १० नम्बर वडालाई ६५ लाखका दरले, २, ३, ५ र ९ नम्बर वडालाई ७० लाखका दरले तथा ७ र ८ नम्बर वडालाई ६०/६० लाखका दरले कुल छ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिईन । त्यस्तै विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि ५० लाख, वर्षाले प्रभावित पारेका सडकको स्तरोन्नति गर्न ७० लाख र नगरका विविध कार्यक्रम सम्पन्न गर्न समपुरक कोषमा तीन करोड ८५ हजार रुपैयाँ बजेट छुट्याइएको छ । प्रस्तुत बजेटमा कृषि उत्पादन, गरिबी न्युनीकरण, व्यवसाय प्रवद्र्धन, आवासविहिनको घर निर्माण, विपद्मा परेकालाई तत्कालै उद्दार तथा राहतका साथै भूगोल र जनसङ्ख्याको आधारमा वडालाई बजेट विनियोजन गरिएको उपप्रमुख बरुवालले बजेट बक्तव्यमा उल्लेख गरेकी छन्।

त्यस्तै नगरसभामा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले आगामी आवको लागि आर्थिक तथा सामाजिक क्षेत्र, वातावरण तथा विपद् व्यवस्थापन, पूर्वाधार विकास, सुशासन तथा सेवा प्रवाह, अनुगमन र मूल्याङ्कन शीर्षकअन्तर्गत विभिन्न नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

रघुगंगा गाउँपालिका

रघुगंगा गाउँपालिकाले आयोजित दशौँ गाउँसभामा आगामी आर्थिक बर्षको लागि कुल ५३ करोड १९ लाख ९ हजार बराबरको बजेट स्विकृत गरेका छ । चालुतर्फ ३० करोड ४३ लाख, पुँजीगत बजेटमा १४ करोड ७५ लाख बजेट विनियोजन भएको छ । चालुतर्फको कुल बजेटबाट सामाजिक सुरक्षा भत्तामा ८ करोड १० लाख बजेट प्रस्ताब गरिएको छ । त्यसैगरि प्रशासनिक बजेटतर्फ रु ७ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।
गाउँसभामा प्रस्तुत गरि पारित भएको बजेटमा नेपाल सरकारको समानिकरण अनुदानतर्फ ८ करोड ३४ लाख, राजश्व बाँडफाटमा ७ करोड ३१ लाख, विशेष अनुदानमा रु २ करोड २८ लाख, सशर्त अनुदानमा रु २० करोड २४ लाख, सम्पुरक अनुदानमा रु ४६ लाख, प्रदेश सरकारबाट समानिकरणतर्फ रु ८९ लाख ७१ हजार, सशर्त अनुदानमा ५० लाख, सम्पुरक अनुदानमा रु ५० लाख, राजश्व बाँडफाँटबाट ५५ लाख बजेट प्राप्त हुनेछ ।

त्यसैगरि गाउँपालिकाको आन्तरिक आम्दानी रु १ करोड ३ हजार र चालु आर्थिक बर्षमा खर्च हुन नसकेर बचत रहन आउन सक्ने रु ३ करोड बैँक मौज्दातलाई समेत बजेटको आम्दानीतर्फ समावेश गरिएको छ । गाउँपालिकाले शिक्षा क्षेत्रमा १४ करोड ७५ लाख , पूर्वाधार निर्माणको क्षेत्रमा ९ करोड ६७ लाख, स्वास्थ्य क्षेत्रमा ७ करोड, कृषि, पर्यटन, सहकारी क्षेत्रमा रु २ करोड, प्रशासकिय भवन निर्माणका लागि रु १ करोड ५० लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

नीति तथा कार्यक्रम र बजेटमा सुकुम्बासी समस्या समाधान, युवा र महिला शसक्तिकरण, सुत्केरी महिला उपहार कार्यक्रम, शिपमुलक तालिम, विद्यालय सुदृढिकरण लगायतका कार्यक्रमहरुलाई प्राथमिकता दिईएको छ ।
गाउँसभाबाट कोरोना संक्रमणका कारण मृत्युभएकाहरुको घरपरिवारलाई रु २५ हजार नगद सहयोग उपलब्ध गराउने र गाउँपालिकाको कोभिड अस्पतालबाट प्रवाह हुने सबै उपचार सेवा निःशुल्क गर्ने निणर्य समेत गरेको जनाईएको छ ।

अन्नपूर्ण गाउँपालिका

अन्नपुर्ण गाउँपालिकाको सोमबार तेहौँ गाउँसभाले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि रु. ४२ करोड ३० लाखको बजेट पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष केशमाया मगरले चालुतर्फ ३१ करोड १७ लाख २० हजार, पुँजीगत तर्फ ८ करोड ९९ लाख ८० हजार र कोषतर्फ दुई करोड १३ लाख रुपैयाँ बजेट बिनियोजन भएको जानकारी गराईन । २३ करोड १८ लाख सशर्त अनुदान, संघीय सरकारको वित्तीय समानिकरण अनुदान ७ करोड ७ लाख, संघिय सरकारबाट आउने राजश्व बाँडफाँड ७ करोड २ लाख ४५ हजार, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान २२ लाख ७२ हजार, प्रदेश सरकार राजश्व बाँडफाँडबाट ५ लाख ३८ हजार, आन्तरिक आम्दानी ९० लाख ४० हजार र चालु आर्थिक बर्षमा खर्च हुन बाँकी एक करोड ९१ लाख ५ हजार रुपैयालाई बजेटको स्रोत मानिएको छ । कोरोना नियन्त्रण, विपद् ब्यवस्थापन, स्वास्थ्य, शिक्षा, पर्यटन, भौतिक पुर्वाधार, युवा तथा खेलकुद, कृषि, खानेपानी तथा सिँचाइ, शिक्षा, वन तथा बातावारण संरक्षणका क्षेत्रलाई बजेटमा प्राथमिकता दिएको अध्यक्ष पुनले बताए । आठ वटा वडाका बस्ती स्तरबाट प्राथमिकताको आधारमा छनौट भई वडाले सिफारिस गरेका योजना तथा कार्यक्रमलाई निति, कार्यक्रम र बजेटमा समावेश गरिएको उनले बताए । वडा स्तरका आयोजनाका लागि पचास पचास लाख रुपैयाँ बिनियोजन गरेको छ ।

तीन लाख रुपैयाँ भन्दा कम बजेटका योजनाको सम्झौता वडामै गर्ने नीति लिएको अन्नपूणर् गाउँपालिकाले बिद्यालय कर्मचारी र बालशिक्षा सहजकर्ताहरुलाई मासिक न्युनतम १५ हजार रुपैयाँ तलबको ब्यवस्था गर्न ६९ लाख रुपैयाँ बिनियोजन गरेको छ । सभाले आर्थिक र बिनियोजन बिधेयक पनि पारित गरेको छ । चालु आर्थिक वर्षमा ६८ लाख ४० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूणर्ले ११ महिनाको अवधीमा ३४ लाख ४० हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको हालसम्म चालु र पुजिगत तर्फ ४९.१३ प्रतिशत खर्च भएको गाउँसभामा जानकारी गराइएको थियो । सडक आयोजनालाई एक करोड ७५ लाख, खानेपानी र सरसफाइमा ४४ लाख, भवन पुर्बाधारमा एक करोड १९ लाख, पर्यटन पुर्बाधारमा ३४ लाख, युवा तथा खेलकुदमा ६४ लाख, कृषिमा ४० लाख, पशु सेवामा ३५ लाख, सहकारीमा पाँच लाख, आयुर्वेदमा पाँच लाख, महिला तथा बालबालिकामा २५ लाख बिनियोजन गरेको छ ।

धवलागिरी गाउँपालिका

धवलागिरी गाउँपालिकाको आयोजना गरकोे एघारौं गाउँसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ४८ करोड ४० लाख ९९ हजार ८२० रुपैयाँको बजेट पारित गरेको छ । उपाध्यक्ष रेशम छन्त्यालले सामाजिक सुरक्षा भत्ता र सशर्त अनुदान सहित चालुतर्फ ३४ करोड ३६ लाख र पुजिगततर्फ १३ करोड ८७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । संघीय र प्रदेश सरकारको अनुदान, गाउँपालिकाको आन्तरिक स्रोत र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमान गरिएको बजेटलाई आधार मानेर आगामी वर्षको योजना तथा कार्यक्रमका लागि बजेट बाडफाँड गरिएको उपाध्यक्ष छन्त्यालले बताए।

अध्यक्ष थमसरा पुनले पुर्बाधार, विपद् ब्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन र रोजगारीको क्षेत्रलाई प्राथमिकता दिएर बजेट, नीति तथा कार्यक्रम बनाएको बताउनुभयो । गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि सबैभन्दा बढी एक करोड रुपैयाँ सहित पुर्बाधार बिकासमा रु. पाँच करोड एघार लाख बिनियोजन गरेको छ ।

वन वातावरण तथा विपद् ब्यवस्थापनमा रु. एक करोड बाइस लाख बिनियोजन भएको छ । नीति तथा कार्यक्रममा ढोरपाटन हुदै कणर्ाली प्रदेश जोड्ने हिमालयन राजमार्गको परिकल्पना गरिएको छ । ताकममा सुरु भएको पाँच शैया क्षमताको अस्पताल निर्माणलाई पूणर्ता दिने, चिकित्सक सहितको अस्पतालको सेवालाई निरन्तरता, वडा कार्यालय र स्वास्थ्य चौकीको भवन निर्माण गर्ने, ताकममा सिटिहल, कुटिचौरमा औद्योगिक ग्राम, कौसिनी-बाँसबोट लामो पुल बनाएर बञ्जिजम्प सञ्चालन गर्ने, मच्छिममा पार्क बनाउने, पर्यटकीय स्थलमा पुर्बाधार निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्वास्थ्यतर्फ मातृ शिशु मृत्युुदर घटाउने, सुनौला हजार दिनका आमासँग अध्यक्ष, कृषिमा हाम्रो टनेल, तपाइको उत्पादन कार्यक्रम चलाउने, घरघरमा धारा जडान गरेर खानेपानी उपलब्ध गराउने, सिचाई सुबिधा बिस्तार र जडिवुटी तथा फलफुल खेतीलाई जोड दिएको छ । कृषि, पर्यटन पुर्बाधार र रोजगार सम्बृद्ध धवलागिरी निर्माणको आधार भन्ने मुल नारा तय गरेको छ । गाउँसभामा पालिका स्थापना भएको चार वर्षमा भएका मुख्य मुख्य उपलब्धीहरुको विवरण सार्वजनिक भएको थियो ।

मुदी, लुलाङ, मराङ लगायत ५ वटा बस्तीमा सडक पुगेको, लुलाङ, नाउरा, बगर, खाम्लामा निजी धारा सहितको खानेपानी योजना कार्यान्वयन भएको, १० किलोमिटर नयाँ ट्याक खोलिएको, ४५ किलोमिटर सडक चौडा पारिएको, ५ किलोमिटरमा ग्यावियन पर्खाल लगाएर स्तरोन्नति भएको उपाध्यक्ष छन्त्यालले बताए । १० हेक्टरमा सिचाई, ५४१ घरमा खानेपानी, पाँच किलोमिटर पदमार्ग, दुई वटा सामुदायिक भवन, दुई वटा सांस्कृतिक पुर्बाधार, पाँच वटा झोलुङे पुल, ४ वटा बिद्यालय भवन र १२ वटा बिद्यालयमा अन्य पुर्बाधार निर्माण भएका छन् ।

मालिका गाउँपालिका

मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि पचास करोड ४३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नवौ गाउँसभामा उपाध्यक्ष खरमाया बिटालुले चालुतर्फ सात करोड ८१ लख, पुजिगत तर्फ १३ करोड ४ लाख र शसर्त अनुदान तर्फ १९ करोड २७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी थिईन ।

संघ, प्रदेश सरकारले दिएको अनुदान, पालिकाको आन्तरिक स्रोत र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमान गरिएको बजेटलाई आधार बनाएर बजेट बिनियोजन भएको हो । सडक, सिचाई, भवन, खानेपानी, बिपद् ब्यवस्थापन, शिक्षा, स्वास्थ्य, लघुउद्यम, पर्यटन, नदी नियन्त्रण, युवा रोजगार, कृषि र पशुपालनलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको अध्यक्ष रोकाले बताए ।
म्याग्दी नदीको कटानको जोखिममा रहेको दरबाङ बजार संरक्षणमा एक करोड सहित विपद् ब्यवस्थापन शिर्षकमा सबैभन्दा बढी तीन करोड १२ लाख ३३ हजार, सडकमा एक करोड ८५ लाख, साझेदारीमा सञ्चालन हुने कार्यक्रमलाई दुई करोड ५० लाख, भवनमा २३ लाख ९० हजार, शिक्षामा एक करोड ९ लाख ९० हजार, स्वास्थ्यमा पचास लाख, खानेपानीमा ४७ लाख ९९ हजार, खेलमैदानलाई २२ लाख ५० हजार, कृषिलाई ४८ लाख ३२ हजार, पर्यटनलाई ३५ लाख, लघुउद्यमलाई ३८ हजार बिनियोजन गरेको छ । गाउँपालिकाको केन्द्र देखि सबै वडाका केन्द्र जोड्ने सडकमा बाह्ै महिना सवारी साधन सञ्चालन गर्न यसअघि मार्ग खोलिएका सडकको स्तरोन्नितिमा प्राथमिकता दिएको छ ।

चालु आर्थिक वर्षको हालसम्म विभिन्न शिर्षकमा ३४ करोड ५१ लख ७६ हजार १६९ रुपैयाँ आम्दानी र २४ करोड ३३ लाख ८१२ रुपैयाँ अथवा ७०.४८ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले बताए । २३ वटा सडक आयोजना मार्फत १७.५ किलोमिटर नयाँ ट्याक निर्माण, ६०० मिटर स्तरोन्नति, १५० मिटर ढलान, ८० मिटर निर्माणाधिन, ७ किलोमिटर पदमार्ग स्तरोन्नती, १ वटा कल्भर्ट पुल, ११ वटा पदमार्ग, ३ वटा ढल निकासका योजना कार्यान्वयन भएका छन् ।

मंगला गाउँपालिका

मंगला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि सामाजिक सुरक्षा भत्ता बाहेक कुल ४२ करोड १८ लाख २५ हजार बराबरको बजेट पारित भएको छ । उपाध्यक्ष केसीले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २१ करोड ५१ लाख, ९९ हजार र पुँजीगत बजेटमा २० करोड ६६ लाख २६ हजार विनियोजन भएको छ । गाउँसभामा प्रस्तुत गरि पारित भएको बजेटमा नेपाल सरकारको वित्तिय समानिकरण अनुदानतर्फ ८ करोड ४७ लाख, पुजीगत सम्पुरक अनुदान रु १ करोड ३९ लाख, विशेष अनुदान रु ९१ लख, संघीय विभाज्य कोषबाट पाप्त हुने राजश्व बाँडफाँडको रु ६ करोड ३ लाख २५ हजार, सशर्त अनुदान रु १९ करोड ७९ लाख बजेट स्रोत मानिएको छ ।
त्यसैगरि प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान रु ९१ लख, प्रदेश राजश्व बाँडफाँडबाट रु ४३ लाख, प्रदेश सम्पुरक अनुदान रु १ करोड, आन्तरिक राजश्वबाट रु ७५ लाख र अनुमानित नगद मौज्दात रु २ करोड ५० लाख रकमलाई समेत बजेटमा समावेश गरिएको छ । गाउँसभामा अध्यक्ष रोकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा गाउँपालिकाको विकासलाई थप प्रभाबकारी बनाउने, जनताका गुनासा र समस्यालाई हल गर्न प्रयत्नरत रहने र स्थानीय समस्याको पहिचान र सम्भावनाको उजागरमा जोड दिईएको छ ।

सडक पुर्बाधारमा १० करोड १८ लाख, सामाजिक विकासमा तीन करोड ३० लाख, सिचाई तथा खानेपानीमा ७१ लाख, साझेदारीमा सञ्चालन हुने योजनाका लागि समुपुरक कोषमा दुई करोड ९ लाख, सहरी बिकासमा दुई करोड एक लाख, कृषि र पशुपालनमा ९९ लाख पचास हजार, कोरोना कोषमा ४८ लाख, वातावरणमा २८ लाख, स्वास्थ्यमा ३७ लाख पचास हजार, पोषण सुधारका लागि १३ लाख, खेल पुर्बाधारमा ३४ लाख ५० हजार, विपद् ब्यवस्थापनमा चार लाख ५० हजार, युवा तथा खेलकुदमा ३६ लाख बिनियोजन गरेको छ ।
चालु आर्थिक वर्षमा ५६ लाख ५० हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको मंगलाले हालसम्म ५२ लाख २० हजार २२६ रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा पुजिगत शिर्षकमा १३ करोड ५६ लाख ८२ हजार २१६ रुपैयाँ बिनियोजन भएकोमा हालसम्म नौ करोड ५१ लाख ५० हजार ४९० रुपैयाँ खर्च भएको छ ।